विष्णुप्रसाद घिमिरे
रानीमहल दरवार अगाडीको भागमा रहेको पानीको फोहरा दुई वर्ष देखी संचालन हुन सकेको छैन् । पर्यटकहरुलाई आर्कषित गर्न, दरवारको सामुन्ने रहेको पोखरीमा पानीको फोहरा वनाइएको थियो । दुई वर्ष अगाडी निर्माण गरिएको फोहरा एक वर्ष पनि संचालन नभईकन बन्द गरिएको छ ।
पुरातत्व विभागबाट रानीमहललाई तानसेन नगरपालिकामा हस्तान्तरण गरेपछी २५ लाख खर्चेर रानीमहलको सौन्र्दय व्यवस्थापन गरिएको थियो । ७ लाखमा खरिद गरिएको मोटर लगायतका अन्य सामाग्रीहरु एक वर्ष नचलाईकन थन्किएका छन् ।
तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार पोखरीबाट पानी चुहिएको र दरवारको तल्लो भागमा लेउ लागेको कारण पोखरीमा पानी फोहरा बन्द गरिएको हो । नगरपालिकाले पोखरीको पानी रोक्ने उपाय अपनाउनुको साटो फोहरा नै बन्द गरेको छ । जसले गर्दा दरवारको सौन्र्दयतामा फरक त आएको छ नै, लाखौं खर्चेर खरिद गरिएको मोटर, पाईप लगायतका उपकरणहरु समेत थन्किएका छन् । ‘हामी पनि व्यस्त व्यस्त भयौं, एक डेढ लाखमा पानी रोक्ने (वाटर प्रुफ) बनाउन सकिन्छ, वजेट पनि छ,’ ईन्जिनियर श्रेष्ठले भन्नुभयो, ‘अव चाढै नै मर्मत गरी संचालन गर्छौं ।’
पुरातत्व विभागले १० वर्षका लागि रानीहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । त्यसयता यसको व्यवस्थापन र हेरचाहको जिम्मेवारी तानसेन नगरपालिकाले लिएको हो । हस्तान्तरण भए लगत्तै पर्यटकलाई आर्कषित गर्न रंगरोगन, पानीको फोहरा निर्माण, शौचालय देखी पानी सम्मको व्यवस्था गरिएको थियो । दरवारलाई मिनी संग्रालय बनाउन एतिहासिक महत्वका सामाग्रीहरु समेत राखिएको थियो । तर यो संचालनको एक वर्ष नपुग्दै पानीको फोहरा बन्द गरियो, जुन अहिलेसम्म पनि संचालन भएको छैन् । एक डेढ लाखमै बन्न सक्ने संरचनालाई समेत वर्षो सम्म निर्माण गरिएको छैन् ।
रानीमहल नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरुमा पर्ने गर्छ । तानसेन नगरपालिकालाई हस्तान्तरण गरेपछी यसबाट आउने आम्दानी समेत नगरपालिकाले लिने गरेको छ । यहाँ दैनिक सयौ पर्यटकहरु टिकट लिएर अवलोकन गर्ने गर्दछन् । गएको वर्ष मात्रै दरवार प्रवेश शुल्कबाट रु ५० लाख वढीको आम्दानी भएको छ । तर यसको व्यवस्थापनमा भने तानसेन नगरपालिकाले वेवास्ता गर्दै आएको छ । नगरपालिकाका प्रवत्ता यादव सिं कार्कीका अनुसार दरवार व्यवस्थापन र संरक्षणका लागि वजेट विनियोजन गरिएको छ । पानीको फोहरा लगायतका कार्यहरु यही आर्थिक वर्षमा गरिने कार्कीको भनाई छ ।
रानीमहल दरवार तानसेन नगरपालिकामा पर्दछ । यसको प्राङ्गगण भने बगनासकाली गाउँपालिकामा गर्दछ । उता वगनासकाली गाउँपालिका पनि रानीमहलको नाममा राजश्व असुलीमा मात्रै केन्द्रित छ । पार्किङ्ग तथा पसलहरुबाट राजश्व उठाउदै आएको वगनासकालीले यसको संरक्षण र व्यवस्थापनमा ध्यान दिएको छैन् ।