सुवास विसी
पाल्पा । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान र अधिकार विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम तानसेनमा हिँजोबाट सुरु भएको छ । साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको हो ।
अन्तरक्रियामा बोल्दै संस्थाकी अध्यक्ष आनिका राना मगरले लैङ्गिक सुदायलाई सम्मान पुर्वक बाँच्न पाउने अधिकार, पहिचान सहितको नागरिकता प्राप्ती, यौन तथा प्रजनन अधिकार, रोजगारीको अवसर लगायत संविधानले प्रदान गरेका अधिकारहरु कार्यान्वयन गर्ने पाटोमा अझै पनि समस्या रहेको बताउनु भयो । उहाँले २६ वर्ष देखि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकार रक्षाका निम्ती राज्य र समुदायसंग विभिन्न लडाई लडेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै परिवार नियोजन संघ पाल्पाका प्रमुख शोभाकान्त न्योपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अझै पनि मानव भएर बाँच्न पाउने अधिकारको समाजले हनन गरेको बताउनुभयो । न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु समुदायबाट अपहेलित भएर बाँच्नु परेको भन्दै सिंगो नागरिक समाज, राज्य, गैर सरकारी संघसस्था, पत्रकार लगायतले जिम्मेवार भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्याक्रममा बोल्दै स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी टिकाराम अधिकारीले समाज अझै पनि विभिन्न रोग लागेको खुलेर भन्न नसक्ने अवस्थामा रहेको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मर्म, पिडा, अवस्था र भोगाई बुझ्न नसक्ने समाज भएको बताउनु भयो । अधिकारीले समाजमा भएको अशिक्षा, संचेतनाको कमी, सरोकारवालाको उत्तरदायित्वमा कमी भएका कारण समाजले स्विकार गर्न नसकेको भन्दै यसका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पाका कार्यसमिति सदस्य बिजय बौडेलले १८ औं शताब्दीमा एउटै मानव भएर पनि दास र मालिकको वर्ग छुट्याए जस्तै २१ औं शताब्दीमा आईपुग्दा समेत नेपालमा मानव र अल्पसंख्यक समुदाय फरक रहेको व्यवहार गर्नु गलत रहेको बताउनुभयो । बौडेलले नेपालको संविधान २०७२ को धारा १६ मा पहिचान सहितको नागरिकता पाउने अधिकार, धारा १२, १३ र १४ मा सम्मान र स्वतन्त्रता पुर्व बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको भएपनि कार्यान्वयन गर्न राज्यको निकाय नै कमजोर रहेको बताउनुभयो ।
कार्याक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक रोज मगरले परिवारलाई अवस्था थाहा हुदाँहुदै पनि नखुलाउन दवाव दिएको बताउनुभयो । त्यस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक विनिता शाहीले राज्यले सिप तथा रोजगारको अवस्था सृजना नगर्दा गलत बाटोमा जान बाध्ये हुने गरेको बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक रेशम न्यौपानेले यो समुदायको अवस्था, तथ्यांक, समस्या र समाधानका उपायबारे सहजिकरण गर्नु भयो ।
अन्तरक्रिया कार्याक्रममा पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी लगायतले यस्तो खालको अभिमुखीकरण सबै विद्यालय र समुदायमा पुग्नुपर्ने बताएका थिए । लुम्बिनी प्रदेशमा खुलेका मात्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक ४३२ जना र पाल्पामा ८० जना रहेका छन् ।