माथागढीको कसेनीमा नाङ्गो तार हटाएर सुरक्षित तार जडान

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ को खहरे बजारमा विद्युतको सुरक्षित तार जडान गरिएको छ । खहरे बजारको नाङ्गो तार हटाएर कालो इन्सुलेसनवाला तार जडान गरिएको हो ।

बजार क्षेत्रमा नाङ्गो तार हुँदा धेरै जोखिम भएको हुनाले समुदायको सुरक्षाको लागि कालो इन्सुलेसनवाला तार जडान गरिएको ३ नं. वडा कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले जानकारी दिनुभयो । धेरै स्थानमा विद्युत सर्ट भई आगलागि जस्ता घटना हुने जोखिम भएकाले त्यसको न्यूनिकरणका लागि सुरक्षित तार जडान गरिएको वडाध्यक्ष घर्तीमगरले बताउनुभयो । घर्तीमगरले वडा कार्यालय बाट एक लाख रुपैंया बजेट विनियोजन गरेर विद्युत विस्तारका लागि उक्त रकमले पोल समेत किनेको बताउनुभयो ।

वडा सदस्य मान बहादुर रानाले बजार क्षेत्रमा भएको जोखिमका कारण नागरिकको आवश्यकता र मागको आधारमा सुरक्षित तार जडान गरिएको बताउनुभयो । वडा सदस्य रानाले वडा कार्यालयका सबै स्थानमा विस्तारै सुरक्षित तार जडान गर्दै लैजाने बताउनुभयो । खहरे देखि सराई सम्म, उरालडाँडा देखि थोत्राकोल जाने बाटो, चित्रुंदी, दमार देखि मोहने सम्मका स्थानमा ३ हजार ५ सय मिटर भन्दा बढी ईन्सुलेशनवाला तार जडान गरेको रानाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले विद्युत कार्यालय संग समन्वय गरेर पालिकाका सबै स्थानमा ईन्सुलेशनवाला तार जडान गर्ने योजनामा रहेको बताउनुभयो । अध्यक्ष चिदीले नागरिकलाई सुरक्षित राख्नु स्थानीय तहको जिम्मेवारी भएकाले सोही अनुसार योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय