बगनासकालीको गाउँ गाउँमै निःशुल्क स्वास्थ्य शिविर

पाल्पा, २२ बैशाख । जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ गाउँमा वृहत स्वास्थ्य शिविर चलाएको छ । गाउँपालिकाले जेष्ठ नगरिक, असहाय र उपचारको लागि घरदेखि टाढा जानुपर्ने बाध्यता भएका बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।

गाउँपालिकाका अनुसार बैशाख १४ गते देखि शुरु भएको शिविर २३ गते सम्म चल्नेछ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा परिवार नियोजन, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल लगायतका स्वास्थ्य संस्थाका विशेषज्ञसहितको गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी खटिएका छन् । शुक्रबार वडा नं. ३ लाई लक्षित गरेर नायर स्वास्थ्य चौकीमा वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार शिविरमा महिला सम्बन्धी प्रसुती रोग सम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा, नसर्ने तथा दीर्घ रोग सम्बन्धी जनरल फिसिजसियन सेवा दिएको थियो ।

यो सँगै जेष्ठ नागरिक, गर्भवती महिला, बालबालिका लगायतले गाउँमै पुगेको शिविरबाट सेवा लिएका छन् । शिविरमा प्रजनन् स्वास्थ्य, रुग्णता सेवा, पाठेघर खस्ने समस्या भोगिरहेका महिलालाई स्क्रिनिङ, रिंग पेशरी, भीआइए सेवा उपलब्ध गराइएको थियो । शिविरमा संघीय सांसद ठाकुर गैरेले उच्च तहबाट नागरिकको स्वास्थ्यको सेवाका लागि संघ, प्रदेशबाट पहल आवश्यक रहेको औंल्याउनुभयो । ‘विकास र समृद्धिको पहिलो सूचक स्वास्थ्य भएकोले यसलाई नियमित र गुणस्तरीय बनाउनु आवश्यक छ’, सांसद गैरेले भन्नुभयो, ‘स्थानीय तहले अगाडि सारेका स्वास्थ्यका कार्यक्रममा संघ, प्रदेश सरकारबाट साथ सहयोग र सुधारको लागि पहल हुनेछ ।’ उ

हाँले निःशुल्क औषधी सहितको स्वास्थ्य शिविर गाउँ गाउँमै आएकोले आफ्नो स्वास्थ्यप्रति आफै सजग भएर सेवा लिन अनुरोध गर्नुभयो । सभासद् गैरेले ग्रामीण भेगमा रहेका महिलाहरूले समाजको डर र लाजका कारण रोग लुकाएर बस्ने गरेको बताउँदै उहाँले रोग लुकाएर नबस्न र समयमै उपचार गर्न समेत आग्रह गर्नुभयो । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी छन् । गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाबासीलाई सरल, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले आधारभूत तहको स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ स्वास्थ्यको क्षेत्रमा बगनासकालीले घर घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सेवा समेत उपलब्ध गराएको जानकारी दिनुभयो । गाउँ टोलममै आएको शिविरबाट प्रसस्त लाभ उठाउन चिदीले स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले बगनासकाली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण कार्य चलिरहेको बताउँदै निकट भविष्यमै गाउँपालिकाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले हाल गाउँपालिका भित्र रहेका ९ वटा स्वास्थ्य चौकी र २ वटा स्वास्थ्य सेवा इकाईमा थप स्वास्थ्य उपकरण व्यवस्थापन गर्ने बताउनुभयो ।

बगनासकाली गाउँपालिकाको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पा लगायत युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल लगायतमा कार्यरत डाक्टर तथा अनुभवी स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा चलेको शिविरमा हालसम्म दुई हजार बढी नागरिकले लिएका छन् । बैशाख १४ गतेबाट शुरु भएको शिविरको आइतबार वडा नं. २ पोखराथोकमा पुगेर समापन हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय