पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडा कसेनीका कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । वडाभरिका १०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।
३ नं. वडा कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले ओलेस क्षेत्रमा धनिया खेति राम्रो हुने भएकाले पकेट क्षेत्र निर्धारण गरि सिंगो गाउँलाई पुग्ने गरि १०० किलो धनियाको बिउ वितरण गरेको बताउनुभयो । त्यस्तै अन्य २० जना किनालनाई ५० किलो धनियाको बिउ वितरण गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो । घर्तीले किसानहरुलाई सामग्रीको उचित सदुपयोग गरि आफ्नो आयश्रोत बढाउन अनुरोध गर्दै आवश्यक परे कृषि क्षेत्रमा अन्य सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा कार्यालयले २५ जनालाई प्लास्टिक मल्चिंग, ३५ जनालाई प्लास्टिक टनेल, ३७ जनालाई स्प्रेयर र ७ जनालाई पोखरीका लागि प्लास्टिक वितरण गरेको ३ नं. वडाका सदस्य मान बहादुर रानाले जानकारी दिनुभयो । रानाले किसानहरुको आम्दानी वृद्धि गर्न माथागढी गाउँपालिकाले धेरै कार्यक्रमहरु ल्याएको बताउँदै किसानहरुले त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
माथागढी गाउँ कार्यपालिका सदस्य लिलासरा चिदीले ओलेस क्षेत्रमा धनिया खेतिको संभावना धेरै राम्रो भएको कारणले त्यस क्षेत्रलाई धनिया पकेट क्षेत्र निर्धारण गरिएको बताउनुभयो । चिदीले आवश्यकता अनुसार वडा कार्यालय तथा गाउँपालिका बाटै पनि प्राविधिक सेवा लिन सकिने बताउनुभयो ।