पाल्पा । माथागढी गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने ४ सय ४४ जना श्रमिकको बिमा गरिदिएको छ । गाउँपालिकाले श्रमिकहरुलाई तीन लाख रुपैयाँका दरले १३ करोड ३२ लाख रुपैयाँ बराबरको बिमा गरिदिएको हो । गाउँपालिकाले आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड नक्साल काठमाण्डौंमा श्रमिकहरुको बिमा गरिदिएको हो ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउनु स्थानीय तहको जिम्मेवारी भएकोले श्रमिकहरुको बिमा गरिएको बताउनुभयो । उहाँले अन्य क्षेत्रमा जस्तै श्रमजीविको लागि पनि स्थानीय सरकारले महत्व दिएर बिमा गरिएको बताउनुभयो । “सबै श्रमिकहरु अझै समेटिन सकेका छैनन्, आगामी वर्षहरुमा यस कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौं ।” उहाँले भन्नुभयो ।
गाउँपालिकाले सबै वडाका श्रमिकहरुको काम गर्ने क्रममा हुने दुर्घटना जोखिम राहतका लागि बिमा गरिदिएको जनाएको छ । गाउँपालिकाले सन् २०२४ अप्रिल ३० देखि एक वर्षसम्म लागु हुने गरी बिमा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । गाउँपालिका र बिमा कम्पनीबीच भएको सम्झौतामा बिमालेख कायम रहेको अवधिमा बिमालेखको परिभाषित दुर्घटनाको एकमात्र प्रत्यक्ष कारणबाट बिमितलाई भएको शारीरिक क्षतिमा बिमालेखको तालिकामा उल्लेख भए बमोजिमको रकम बिमा कम्पनीले भुक्तानी दिने जनाइएको छ ।
सम्झौतामा दुर्घटनाबाट जीवित भए स्वयं बिमित, सो नभए बिमितले इच्छ्याइएको व्यक्ति, सो नभए बिमा ऐन, २०४९ को दफा ३८ अनुसार बिमितको आश्रीत व्यक्तिले बिमालेख अन्तरगत भुक्तानी पाउने जनाइएको छ ।
गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष शंकर दर्लामीले स्थानीय सरकार भनेको श्रमजीवि नागरिकहरुको सरकार भएको अनुभूति दिलाउने काम भएको बताउनुभयो । उहाँले बिमा कार्यक्रमले श्रमजीविलाई कामप्रति उत्साहित र सुरक्षाको पनि आभाष गराएको बताउदै जोखिमको काम गर्ने श्रमजीविहरुका विभिन्न समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । प्रवक्ता दर्लामीले श्रमजीविका लागि स्थानीय सरकार योजना बनाएर लागि परेको जानकारी दिनुभयो ।
३ नं. वडाका वडाध्यक्ष तेज घर्तीमगरले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई अप्ठेरो पर्दा उपचारका लागि सहज होस भन्ने हेतुले बिमा कार्यक्रम लागु गरिएको बताउनुभयो । वडाध्यक्ष घर्तीमगरले काम गर्ने दौरानमा जुनसुकै खालको चोटपटक लागेमा वा दुर्घटना भएमा वडा कार्यालयमा सम्पर्क गर्न गनुरोध गर्दै बिमा रकम दावी भुक्तानीका लागि वडा कार्यालय र गाउँपालिका कार्यालयले समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो ।
स्थानीय सरकारले आफूहरुको स्वास्थ्यका लागि ध्यान दिएर बिमा गरिदिएकोमा श्रमजीविहरु खुसी भएका छन् । दैनिक काम गर्दा हुन सक्ने जोखिम र आफूसंगै आफ्नो परिवारको पनि स्वास्थ्य बिमा हुने भएपछि स्वास्थ्य क्षेत्रमा पहुँच बढेकोमा खुसी लागेको वडा नं. ३ का दुर्गा बहादुर कुमालले बताउनुभयो । यस्तै दैनिक काम गरेको पैसाबाट बचत गरेर बिमा गर्न नसकेको अवस्थामा स्थानीय सरकारले नै स्वास्थ्य बिमा गरिदिएपछि अब दुर्घटना भएमा आर्थिक अभावले उपचारबाट वञ्चित हुन नपर्ने भएको ३ नं. वडा कसेनीका श्रमिक दलबहादुर रेस्मीले बताउनुभयो ।