एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय

पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँस आत्रेय चयन हुनुभएको छ । एमाले तानसेन नगर कमिटीको दोश्रो अधिवेशनले आत्रेयको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा थानीमाया सोमैमगर र मित्रलाल नेपाली सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनका अवसरमा वडा कमिटीमा रहेर काम गरेका नगर भित्रका १४ वटा वडाका वडा कमिटी अध्यक्षहरुलाई सम्मान गरिएको थियो । अधिवेशनको बन्द सत्रमा आत्रेयले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभाका सदस्य ठाकुर प्रसाद गैरेले एमाले देशको प्रमुख राजनैतिक शक्ति मात्र नभई जुनसुकै मुद्दामा निर्णय गर्ने निर्णायक शक्ति समेत भएको बताउनुभयो । एमाले केन्द्रिय सल्लाहकार सदस्य परशुराम भट्टराईले पहिलेको निर्वाचनमा भएका कमिकमजोरी सच्याउँदै जनताको बिचमा जाने गरी योजना बनाएर नवनिर्वाचित कमिटी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले चौतर्फी गठबन्धन र घेराबन्दीका बिच पनि एमाले पहिलो पार्टी भएको बताउनुभयो । पाल्पामा एमाले एक्लै हुँदा पनि बहुमत पालिका र बहुमत वडा जित्न सफल भएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पार्टीलाई अप्ठेरो पर्दा जुनसुकै बेला कार्यकर्ताले बचाएको पार्टी एमाले भएको बताउनुभयो । नेता आचार्यले पार्टीको विचार, दृष्टिकोण र नेतृत्वका क्षेत्रमा इमान्दार भएर अघि बढ्न सके जनताको नजिकको पार्टी सावित हुने बताउनुभयो ।

नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य ओम बहादुर घर्तीले पार्टीले नागरिकका समस्यालाई प्रमुख केन्द्रविन्दु बनाएर काम गर्न नवनिर्वाचित कमिटीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले ५ वटा पालिका र ५९ वटा वडाको अधिवेशन सम्पन्न गरिसकेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष आत्रेयले नेकपा एमालेलाई जनताको समस्या बुझ्ने पार्टीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय