माडीफाँटको सिंचाईका लागि संभाव्यता अध्ययन

पाल्पा । अन्नको भण्डार भनेर चिनिने माडी फाँटको सिंचाई व्यवस्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

माथागढी गाउँपालिका १ नं. वडा चिदिपानीले सिंचाई व्यवस्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको हो । १ नं. वडा चिदिपानीका वडाध्यक्ष राजकुमार पन्थीले माडी फाँटमा अहिले वर्षमा एक खेति मात्र हुने गरेको भन्दै यस उर्वर क्षेत्रलाई बाह्रै महिना खेति हुने वातावरण तयार गर्ने योजना रहेको बताउनुभयो । वडाध्यक्ष पन्थीले माडी फाँटमा सिंचाईको अभाव भएकाले उर्वर भूमि खेर गईरहेको भन्दै माथागढी १ चिदीपानीमा रहेका कुलो, खोला, डिपबोरिङ्ग र ड्याम लगाउन सम्भावना भएका स्थानहरुको प्रारम्भिक सर्वे कार्य चलिरहेको बताउनुभयो ।

पाल्पाका प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले माडी फाँटलाई कृषि क्षेत्रको हब बनाउने योजना अनुरुप सिंचाई क्षेत्रलाई प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । सांसद आचार्यले पाल्पाको महत्वपुर्ण अन्नको मण्डार भनेर चिनिने माडीफाँटलाई सिंचाईको सुविधा दिएर वर्षको तीन खेति सहजै हुने अवस्थाको निर्माण गर्न संघीय तथा प्रदेश सरकार संग समन्वय भईरहेको बताउनुभयो ।

अहिले माडी फाँटका अधिकांश क्षेत्रमा सिंचाई अभावका कारण एक खेति मात्र हुने गरेको छ । यहाँका किसान खेति कार्यका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । माडीफाँटको बीच बाट बग्ने तिनाउ खोलाको पानी समेत व्यवस्थापन गर्न नसक्दा बर्षाको समयमा खेतमा खोला पस्ने र हिउँदको समयमा सिंचाईका लागि प्रयोग गर्न नसक्ने अवस्था छ । सिंचाई योजना पुरा भएमा यहाँका किसानलाई कृषि कार्यमा सहज हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय