पाल्पा । तिनाउ गाउँपालिकाको भुजेलबस्ती र भूतखोला जोड्ने पुलको उद्घाटन भएको छ । वडा नं. २ को भुजेलबस्ती र बेलदमार तथा वडा नं. ३ को भूतखोला जोड्ने पुलको उद्घाटन गरिएको हो ।
गाउँपालिकाले ८९ लाख २४ हजार ३ सय ७९ रूपैयाँ ७ पैसा रकमबाट पुलको निर्माण गरेको हो । जसमा गाउँपालिकाले ११ लाख ६० हजार १ सय ६७ रूपैयाँ बजेट विनियोजन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले पुलको उद्घाटन गर्दै वडा नं. २ र ३ का नागरिकहरुलाई आवतजावत गर्न सहज हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले गाउँपालिकाले नागरिकहरुको आवश्यकताका आधारमा योजना बनाएर विकास निर्माणको काम अघि बढाएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले नागरिकहरुको आधारभुत आवश्यकता पुरा गर्न गाउँपालिकाले विभिन्न योजना बनाएको र क्रमश कार्यान्वयन समेत गर्दै गएको बताउनुभयो । पुल निर्माणले ऐतिहासिक तथा पर्यटकिय क्षेत्र भुतखोला पर्यटन प्रवर्द्वन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत, २ नं. वडाका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यादव अर्याल, ३ नं. वडाका चित्र बहादुर थापा, पुर्व वडाध्यक्ष प्रेम पाण्डेयलगाएतले भौतिक पुर्वाधारसँगै कृषि र पर्यटनलाई प्राथमिकता दिएर काम गरेको विषयमा जोड दिएका थिए ।