पाल्पा – पाल्पाका धेरै स्थानमा आगलागी भईरहेको छ । धेरैजसो सामुदायिक वन र केही व्यक्तिगत घरजग्गामा आगलागी भईरहेको छ ।
गतवर्ष भन्दा यसवर्ष आगलागीका घटना बढ्दो रुपमा रहेको छ । पाल्पाका दशै स्थानीय तहका विभिन्न स्थानमा आगलागी भएपनि निभाउन समस्या छ । नागरिकहरु अहिले पनि आगो निभाउन माटो र स्याउलाको प्रयोग गर्न बाध्य छन् ।
जिल्लामा एकमात्र तानसेन नगरपालिकाको दमकल रहेको छ । उक्त एकमात्र दमकलको भरमा आगो नियन्त्रण आउन संभव छैन । एउटा दमकललाई एकै दिनमा १० भन्दा बढी स्थान बाट फोन आउने गरेको तानसेन नगरपालिकाका दमकल चालक मनोज रुचालले बताउनुभयो । संभव भएसम्म धेरै स्थानमा पुगेर आगो निभाउने प्रयास गरेपनि सबै ठाउँमा पुग्न सम्भव नरहेको चालक रुचालले बताउनुभयो । पछिल्लो हप्ता त लगभग दिनरात नभनेर एकछिन पनि सुत्न नपाएको चालक रुचालले बताउनुभयो ।
माथागढी गाउँपालिकाले आगलागी नियन्त्रणका लागि थप ३ वटा ट्यांकर परिचालन गर्ने भएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो । जताततै भएको आगलागी नियन्त्रण गर्न बाटोको धुलो समस्या समाधान गर्न प्रयोग गरिएका सबै ट्यांकर प्रयोग गरेर आगलागी नियन्त्रणको प्रयास गरिने अध्यक्ष चिदीले बताउनुभयो ।
पाल्पाको श्रीनगर वन क्षेत्रमा समेत भिषण आगलागी भईरहेको छ । माथागढी–४, मकलेको जामुनडाँडा र गढीबारी आगलागी हुँदा पाँच वटा घर र गोठ जलेर नष्ट भएको छ । शनिबार दिउँशो स्थानीय खमीसरा काम्मुको गोठमा लागेको आगो फैलिएर छिमेकीको घरगोठ पनि सल्केको हो । आगलागीबाट चार वटा घर, पाँच वटा गोठ, लैना भैसी, गोरु, १५ वटा बाख्रा, लत्ताकपडा, गरगहना, पैसा अन्नपात सबै जलेर नष्ट भएको छ । आगलागीबाट काम्मुसहित रामबहादुर सुनार, राजन विक, भुवनसिंह सुनार, दिलकुमारी विक र कौशल प्रसाद श्रेष्ठको घरगोठमा क्षति पुगेको उहाँले बताउनुभयो ।
पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्कालै खाद्यान्न सामग्री वितरण गर्ने काम भएको उहाँले बताउनुभयो । आगो अझैँ पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । गाउँबाट सुरु भएको आगो अहिले जङ्गलमा फैलिएको माथागढी–४ का अध्यक्ष शंकर दर्लामीले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, नेपाली सेना, जनपथ प्रहरी र शसत्र प्रहरीसहित स्थानीय बासिन्दाले आगो निभाउने प्रयास जारी छ ।
यस्तै शनिबार नै माथागढी–३ को दुइ स्थानमा आगलागी भएको छ । माथागढी ३ सराइ थोत्राकोल नजिकै लागेको आगो स्थानीय बासिन्दा, जनपथ प्रहरीको सहयोगमा निभाइएको थियो । यस्तै सराइ सेमलघाट नजिकै विजुलीको तारबाट फैलिएको आगो पनि निभाइएको वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर र रातीसम्मै डढेलो लाग्यो । तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा रहेको विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको थियो । वनदेवी सामुदायिक वन क्षेत्रको जंगलका तीन चार स्थानमा डढेलो लागेको छ । वन रक्षक, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा बस्तीमा डढेलो पस्नबाट रोकिएको छ । त्यही बेला बगनासकाली १ को जंगलमा पनि सम्हाल्नै कठिन हुने गरी डढेलो लागेको छ ।
आगलागी नियन्त्रणका लागि स्थानीय तह, अन्य सरोकारवाला निकायले जनचेतना फैलाउन र दमकल खरिद गर्नेबारे योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको छ ।