काफल बेचेर कमाउँदै माथागढीका महिला

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ४ का महिलाहरुले काफल बेचेर आम्दानी गर्दै आएका छन् । यहाँका महिलाहरुले काफल बेचेरै वर्ष दिनको खर्च धान्ने आम्दानी गर्दै आएका हुन् ।

विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । रुपन्देहीको बुटवल, खैरेनी, पाल्पाको तानसेनलगाएतका बजारमा यहाँको काफल बेच्नेको ताति नै लाग्ने गरेको छ ।

बजारमा काफल बेचेर उनीहरुले दैनिक चार हजार रुपैंया सम्म आम्दानी गर्ने गरेका छन् । दैनिक चार हजारसम्म आम्दानी गर्ने गरेको माथागढी ४ मकलेकी पार्वती चिदीले बताउनुभयो । ‘दिनमा चार हजारसम्म कमाइ हुन्छ’, उहाँले भन्नुभयो, ‘कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।’

चिदीले काफल हुने मौसममा राम्रो आम्दानी गर्ने गरेको बताउनुभयो । एक महिनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गरेको उहाँको भनाइ छ । अहिले बजारमा एक मानोको १ सय ५० रुपैंयामा बेच्ने गरिएको उहाँले बताउनुभयो । ‘पोहोरसाल १ सय रुपैंया मानो बेच्ने गरेका थियौँ’ । उहाँले भन्नुभयो ।

दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै बजारमा काफल बच्ने गरेको स्थानीय लाल बहादुर चिदीले बताउनुभयो । ‘घरका दुई जनाले टिप्ने हो भने एकै दिनमा चार पाथी पनि टिपिन्छ, धेरैजसो आफ्नै बारीमा छ, जयो सिजनमा त जंगलभरी समेत काफल पाकेका छन् । एउटै बोट बाट एक सिजनमा ५० देखी ७० हजार रुपैंया सम्म कमाई हुन्छ ।’

यो समयमा यहाँका महिलाले काफल बेचेरै आफ्नो दैनिकी चलाउने गरेका छन् । अहिले बुटवलका बजारमा माथागढीको काफल बेच्ने महिला धेरै छन् । गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन् ।
यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ ।

माथागढीको फेंदिया, मकले, गोफदी, रुचालटोल, गाडडाँडा, मौवाडाँडा, फेंचेबास, मैपाली, नेटा, सित्तलेलगाएतका स्थानलाई वडा कार्यालयले काफल पकेट क्षेत्र निर्धारण गरेर काफल प्रवद्र्धनको काम गरिरहेको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । दर्लामीले काफल टिप्न सहज होस् भनी वडा कार्यालयले क्यारेट अनुदान वितरण गरेको समेत बताउनुभयो ।

काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको र यसलाई आगामी वर्ष थप प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय