नुहाउन गएकी पदमाको छिमेकीबाट हत्या, हत्याराको घरमा भेटियो रगताम्मे खुर्पा र पदमाको मोबाईल

पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनले मंगलबार दिउँसो १२ बजे हत्या गरेको खुलेको छ।

पद्‍मा घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी थिइन्। देवलाल सोही धारामा पुगेका थिए। उनीहरू बीच सामान्य विवाद भएको थियो। के बारेमा विवाद भएको भन्नेबारे खुलिसकेको छैन।

विवादपछि डोकोमा धोएका कपडा बोकेर घर फर्किँदै गरेकी पद्‍मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले बताए। घरभन्दा केही पर खुलखुले गैरामा उनले आक्रमण गरेका थिए।

देवलालको घर धारो नजिकै पर्छ। यहाँ देवलालको एक्लो घर छ। शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो। आज थप प्रमाण भेटिएको छ। उनको घरबाट रगत लतपतिएको कपडा र खुर्पा फेला परेको छ। गोठबाट मृतकको मोबाइल फेला परेको बुझिएको छ।

मृतक पद्‍माका बुवा दलबहादुर सुनारले किटानी जाहेरी दिएका छन्। शुक्रबार मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रनाउ श्रेष्ठले बताए।

मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको उनले बताए।

उनको हातका औंला छिनिएको छ। हातका पाखुरा, घाँटीमा काटिएको अवस्था छ। शव पोष्टमार्टमका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए।

दोषीलाई हदैसम्मको कारबाही गर्न सरोकारवालाले माग गरेका छन्।

साभार : www.thahakhabar.com, Milan BK

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय