राजश्व सुधार्न माथागढीका जनप्रतिनिधि र कर्मचारीलाई तालिम

पाल्पा । माथागढी गाउँपालिकाले राजश्व सुधार गर्न क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले जनप्रतिनिधी र कर्मचारीहरुका लागि दुइ दिने राजश्व सुधार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको हो ।

तालिममा स्थानीय सरकारको खर्च सञ्चालन तथा योजना र कार्यक्रम निर्धारणका लागि र उनीहरुको सामथ्र्य वृद्धि गर्नका लागि पनि ती निकायहरुको आन्तरिक राजस्व परिचालन क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता अपरिहार्य बन्न पुगेकाले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । चिदीले तालिम पश्चात स्थानीय तहको राजस्व अधिकारका संभावनाहरुको खोजी गर्ने, संभाव्य क्षेत्रको राजस्व परिचालनका लागि अवलम्बन गर्नुपर्ने नीतिगत, कानूनी र व्यबस्थापकीय सुधारका उपायहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने र ती सबै प्रयाशका आधारमा आगामी दिनमा परिचालन गर्न सकिने वास्तविक आन्तरिक आयको प्रक्षेपण गर्ने कार्यका लागि राजस्व सुधार कार्ययोजनाको खाँचो पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले आन्तरिक आय परिचालनमा सुधार ल्याउनका लागि राजश्व सुधारका कृयाकलापहरु पहिचान गर्न र पहिचान गरिएका कृयाकलापहरुको कार्यान्वयनबाट स्थानीय तहको आन्तरिक आयमा पर्न सक्ने प्रभाव समेतका आधारमा आगामी दिनमा प्राप्त हुन सक्ने राजस्वको प्रक्षेपण गर्ने कार्यलाई मार्गदर्शन गर्न तालिम प्रभावकारी हुने बताउनुभयो ।

माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले तालिमले स्थानीय तहलाई आ–आफ्नो राजश्व सुधार कार्ययोजना तर्जुमा गरी आन्तरिक आय परिचालनमा सुधार ल्याउन र राजश्व प्रक्षेपणलाई यथार्थपरक र बैज्ञानिक बनाई वजेट तर्जुमा प्रकृयालाई थप व्यबस्थित गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले संघ तथा प्रदेश सरकारबाट प्रदान गरिने अनुदानले मात्र स्थानीय तहको खर्च आवश्यकता पुरा गर्न संभव नहुने र राज्य शक्तिको बाँडफाँड गर्दा राज्यको राजस्व अधिकारको समेत तहगत सरकारबीच शक्तिको बाँडफाँड गरिने हुँदा संघीय वित्त व्यबस्थाका मान्यता अनुसार स्थानीय तहलाई विभिन्न कर तथा गैर करहरु लगाउने र उठाउने गरी राजस्व अधिकार समेत संबैधानिक रुपमै प्रदान गरिएको भन्दै जनप्रतिनिधी र कर्मचारी त्यसबारेमा जानकार हुन आवश्यक रहेको बताउनुभयो ।

तालिममा सहभागी वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले संस्थागत संरचना, जनशक्ति, व्यबस्थापकीय पक्षहरुलाई विश्लेषण गर्दा वर्तमान अवस्थामा पनि आन्तरिक स्रोत परिचालनमा गाउँपालिकाको अवस्था कमजोर देखिएको भन्दै त्यसको सुधारका लागि तालिम प्रभावकारी भएको बताउनुभयो । तालिमको सहजिकरण नेपाल सरकारका पुर्व सचिव कृष्णहरी बास्कोटाले गर्नुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय