माथागढीको चिदीपानी र बगनासकालीको लालपाटीमा फागु विशेष कार्यक्रम हुँदै

पाल्पा । माथागढी गाउँपालिकाको चिदीपानी र बगनासकाली गाउँपालिकाको लालपाटीमा फागु विशेष कार्यक्रम हुने भएको छ । माथागढी गाउँपालिका वडा नम्बर १ कार्यालयको सक्रियतामा “हाम्रो संस्कृती हाम्रो पहिचान, मौलिकता संरक्षणमा सबैको योगदान“ भन्ने नाराका साथ फागु खेल्ने कार्यक्रम हुने भएको हो । माथागढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थीले सामाजिक विकासको अर्थ भौतिक स्तरोन्नति मात्र नभएर समाजको सर्वाङ्गीण विकास पनि भएको भन्दै मौलिक संस्कृति, साहित्य, परम्परा र रहनसहन आदि पनि सार्थक जीवनको द्योतक भएको बताउनुभयो ।

वडाध्यक्ष पन्थीले विगतका केही वर्षहरूदेखि फागुको मौलिकतामा ह्रास आएको र चाडपर्वहरूमा आयातित संस्कृती हावी हुँदै गएको भन्दै मौलिक संस्कृति परम्परा रहनसहन र सभ्यतालाई जगेर्ना गर्न फागु विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पन्थीले फागुको मौलिक गीत र प्रचलनका बारे जानकारी भएका व्यक्तिहरू, समाजसेवी, बुद्धिजीवी , संस्कृतिप्रेमी, शिक्षाप्रेमी सबैलाई फागु विशेष कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।

परम्परा बमोजिम फागु खेल्ने क्रममा सङकलित रकम मौलिक संस्कृति, परम्परा, भेषभुषा संरक्षण तथा संवद्र्धनका लागि कोष बनाईने भएको छ । मौलिक संस्कृति र परम्पराहरू जगेर्ना गर्न यही चैत्र १० गते शनिबारका दिनबाट फागुको कार्यक्रम लिएर टोल टोलमा पुग्ने वडा कार्यालयले जनाएको छ । वडा कार्यालय अगाडि सातदोबाटो बाट सुरु हुने फागु विशेष कार्यक्रम अगाहाखोला, रुमाल डाँडा, बियादी, जाउपोखरा, धैरेनी, भुटुके भन्ज्याङ, बुद्धिकोट, बधवारी, अर्पी डाँडा सम्म चैत्र १० गते र ११ गते यामकुना, दोहोरा, फेदी हुँदै लालपाटी मेलामा प्रस्तुती कार्यक्रम हुने वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय