
पाल्पा । जातीय विभेद विरुद्धको सचेतनामूलक कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना, तानसेन नगरपालिकाको सहकार्य र उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको समन्वयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उत्पीडित उत्थान विकास केन्द्र पाल्पाका ठाकुर प्रसाद लोहागुनले नेपालमा जातीय छुवाछुतको इतिहास, वर्तमान अवस्था र भविश्यको बारेमा सहजीकरण गर्नुभयो । लोहागुनले इतिहासमा छुवाछुत नभएको भन्दै पछि मानिसले नै कामको आधारमा जातको वर्गीकरण गरेर भेदभाव गर्ने अवस्थाको सिर्जना गरेको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता तथा पत्रकार मिलन विकले छुवाछुतको कारण, प्रभाव, असर, सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक विभेदका बारेमा सहजीकरण गर्नुभयो । सहजकर्ता विकले छुवाछुत गर्ने व्यक्तिहरु माथि हुने कारबाही, दलित नेता र नेतृत्व, क्षमता अभिवृद्धिलगाएतका विषयमा समेत सहजीकरण गर्नुभयो ।
कार्यक्रममा कानुन व्यवसायि नारायण ज्ञवालीले जातीय विभेदको कानुनी व्यवस्था, जातीय विभेदका प्रकार, त्यसको कार्यान्वयन प्रक्रियाबारे सहजीकरण गर्नुभयो । ज्ञवालीले जातीय विभेदका दण्ड, कानुन, ऐन, कानुनी समस्याहरु र समाधान गर्ने तरिकाका विषयमा छलफल गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले जातीय भेदभावको अवस्था बाहिरी रुपमा सुधार हुँदै गएको भएपनि भित्री रुपमा अझै पनि बाँकी रहेको विषयमा जोड दिएका थिए । तानसेनका दलित महिला जनप्रतिनिधीहरु, गैरदलित जनप्रतिनिधीहरु, सरोकारवालाहरु सहभागी भएको सचेतनामूलक कार्यक्रममा दलित वर्गको क्षमता वृद्धि, अभिमूखिकरण, रोजगारी, अवसरलगाएतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय पाल्पाका मनोज आचार्यले सञ्चालन गर्नुभएको थियो ।