
पाल्पा । महोत्सव लगाउन ६० लाख बढी राजश्व उठाएर मख्ख परेको नगरपालिका आफ्नै क्षेत्रका नागरिक ठगिँदा मौन बसेको छ । एक बोतल पानिको मुल्य ५० रुपैंया सम्म तिरेको अधिकांश रकम जिल्ला र देश बाहिरै गएको छ ।
महोत्सव लगाउन ६० लाख बढी रकमको ठेक्का दिएको नगरपालिकाले नागरिक ठगिएको र करोडौं रकम बाहिर गएको पत्तै पाएको छैन । स्थानीय उद्योगी र व्यापारिहरु संग कुनै समन्वय नगरि सञ्चालन गरिएको महोत्सवको व्यवस्थापन पनि फितलो देखिएको छ । प्रथम तानसेन महोत्सव २०८० मा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका स्टलको अवस्था विजोग छ । कृषि, रोजगार र पर्यटनको नारा बोकेर सञ्चालन गरिएको महोत्सवमा कृषि, स्वास्थ्य र शिक्षाका स्टलहरु हेलामा परेका छन् ।
महोत्सवमा दर्शकहरुले अवलोकन नगर्ने क्षेत्र तर्फ केहि स्टलहरु मात्र कृषि र शिक्षाको लागि छुट्याईएको छ । दर्शकहरु मेलाको प्रमुख केन्द्र जाने बाटोको पछाडीतर्फ मात्र कृषि र शिक्षाका लागि स्टल राखिएको छ । कृषि र शिक्षाका अधिकांश स्टलहरु धेरैजसो बन्द अवस्थामा रहेका छन् । महोत्सवमा कृषि प्रवद्र्धन र रोजगारीका कुनै पनि रचनात्मक कार्यक्रम सञ्चालन भएको देखिँदैन ।
तानसेन नगरपालिकाको स्वास्थ्य सुचना कर्नरमा नै कोहि पनि प्रतिनिधि भेटिएनन् । लुम्बिनी मेडिकल कलेज, मोहन कन्या माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय र महेन्द्रबोधी माध्यमिक विद्यालयले राखेको सामाजिक प्रयोगशाला पनि बन्द अवस्थामा देखिएका छन् ।
दर्शकहरु हिँड्ने बाटो भन्दा पछाडीको भागमा कृषि, शिक्षा र स्वास्थ्यको स्टल राखिँदा स्टलवालाहरुमा पनि कुनै उत्साह छैन । महोत्सवमा आएका एकदमै थोरै दर्शकहरुले पनि कृषि, शिक्षा र स्वास्थ्यको स्टलहरु अवलोकन गरेका छैनन् । अधिकांश पर्दाले ढाकेर राखेका सुनसान स्टल शिक्षा र स्वास्थ्य क्षेत्रका छन् । पिठ्यूँमा बच्चा बोकेर तानसेन नगरपालिकाको स्वास्थ्य सुचना कर्नर नियालिरहेका महिलाहरुलाई स्वास्थ्यमुलक जानकारी दिने कोहि छैन । स्टल रित्तो छ ।
स्टलहरुको अधिकांश व्यस्त क्षेत्रमा छिमेकी मुलुक भारतका फेन्सी तथा कस्मेटिक सामग्रीहरुलाई प्राथमिकता दिईएको छ । महोत्सव क्षेत्रको बीच भागतिर होटल र अन्य जंकफुडका स्टललाई प्राथमिकतामा राखिएको छ । अधिकांश खाद्य सामग्रीहरु विना लेबलिंगका छन् । खाद्य पदार्थको गुणस्तरका लागि सचेतना चलाएपनि त्यसको पालना भएको देखिँदैन ।
महोत्सवमा घरेलु हातहतियार निर्माणकर्मीको स्टललाई प्राथमिकतामा राखिएको छैन । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने भनेको नगरपालिकाले कृषि क्षेत्रको स्टल राख्न कन्जुस्याई गरेको छ । नारामै रोजगार र पर्यटन उद्योग जपेको नगरपालिकाले त्यसको नाममा कुनै प्रवद्र्धनका कार्यक्रम राखेको छैन ।