तानसेन महोत्सव : गुणस्तरहिन खानेकुरासंगै अचाक्ली महंगो

पाल्पा । तानसेन महोत्सव २०८० मा गुणस्तरहिन खानेकुरासंगै अचाक्ली महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । स्टलहरुमा पाईने खानेकुरा बजारमा भन्दा अचाक्ली महंगो भएको उपभोक्ताहरुको भनाई छ ।

होटल स्टलहरुले बाहिर भन्दा तीन गुणा सम्म बढी मुल्य लिने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् । महोत्सव क्षेत्रभित्र प्रवेश गरिसकेपछी उपभोक्ताहरुलाई स्टल भित्रै खाजा खानुपर्ने बाध्यता हुने मौकाको फाईदा होटल स्टलवालाले उठाएको मेलामा सहभागि दर्शकहरुले बताएका छन् ।

महोत्सव क्षेत्र भित्र एक बोतल पानिको ५० रुपैंया, बाहिर ५० रुपैंया पर्ने जुस १५० रुपैंया सम्म लिएका छन् । त्यस्तै अन्य खाजा, नास्ताको पनि अचाक्ली मुल्य लिएका छन् । महोत्सवको मौका पारेर उपभोक्ताहरु लुटिँदा समेत सरोकारवाला निकाय मौन जस्तै बनेको छ । बढी मुल्य लिने स्टलवालालाई कारबाही गर्न सकेको छैन ।

कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापारलाई प्रवद्र्धन गर्ने नारा सहित पहिलो पटक महोत्सव आयोजना गरेको तानसेन नगरपालिकाले व्यापार बाहेक अरु क्षेत्रलाई प्रभावकारी रुपमा समेट्न सकेको छैन । व्यापारी पनि अधिकांश मात्रामा छिमेकी मुलुक भारतका रहेका छन् । कारोबार जति देखिए पनि धेरै रकम देश बाहिर जाने स्थानीय व्यापारीहरुले बताएका छन् ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पाका कार्यालय प्रमुख नरेश श्रेष्ठले महोत्सवका होटल स्टलवालाहरुलाई गुणस्तर कायम राख्न एक दिने सचेतना कार्यक्रममा सहभागि बनाईएको बताउनुभयो । श्रेष्ठले गुणस्तर कायम भए नभएको अनुगमन गर्ने बताउनुभयो ।

महोत्सवको व्यवस्थापकीय पक्ष पनि कमजोर देखिएको छ । महिला, वालवालिका तथा वृद्धहरुलाई महोत्सव अवलोकनमा निकै समस्या देखिएको छ । अत्याधिक भिड र आवतजावत व्यवस्थापन गतिलो नहुँदा सहभागि दर्हकहरु समस्यामा परेका हुन् । साँघुरो स्थान र धेरै संख्यामा रहेका स्टलहरुको कारणले दर्शकहरुलाई समस्या पारेको छ ।

नगरपालिकाले महोत्सवलाई कृषिको प्राथमिकतामा राखिएको भन्दै आएपनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिँदैन । अन्य महोत्सव जस्तै फेन्सी आईटम नै मेलाको प्राथमिकतामा परेका छ । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न नगरपालिकाको कुनै चासो छैन । कृषि तथा घरेलु हातहतियारजस्ता सामग्रीको प्रवद्र्धनमा नगरपालिकाले कुनै सहयोग गरेको देखिदैन ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले महंगो मुल्य लिएका होटलहरुलाई सचेत बनाईएको र अव अनुगमनका क्रममा धेरै मुल्य लिएको पाईएमा कारबाही गरिने बताउनुभयो । प्रवक्ता कार्कीले खानेकुराको मुल्य र गुणस्तर दुवै कायम राख्न नगरपालिका प्रतिवद्ध भएको बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले महोत्सवमा गुणस्तरको कुरा उठेको भएपनि मुल्यको कुरा नउठेको भन्दै यसबारेमा तानसेन नगरपालिकासंग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय