एमाले तानसेन नगर स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

पाल्पा । नेकपा एमाले तानसेन नगर स्तरिय दुइ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम तानसेनमा सुरु भएको छ । नेकपा एमाले तानसेन नगर कमिटिले स्कुल विभागलाई चुस्त बनाउँदै कार्यकर्ता प्रशिक्षणलाई व्यापक बनाउनेगरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहजकर्ता वाईपी आचार्यले सुचना प्रविधिमैत्री पार्टी निर्माणका लागि अवको नेतृत्व अघि बढ्नुपर्ने बताउनुभयो । आचार्यले अहिलेको यूवा पुस्ताको चाहना, सोंच र आवश्यकता अनुरुप पार्टी उनिहरुसंग पुग्न नसकेको भन्दै यूवाहरु पार्टीमा आउने भन्दा पनि पार्टी यूवाहरु सम्म पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

आचार्यले पुरानो सोंचका आधारमा नेता बन्न सक्ने अवस्था नभएको भन्दै समयअनुसार परिवर्तन हुनेगरी आफ्नो क्षमताको विकास गर्नुपर्ने बताउनुभयो । आचार्यले पार्टीसँगै नेता पनि आधुनिक जमाना अनुसारको हुनुपर्ने, सामाजिक सञ्जाल, अनलाइनको विषयमा जानकार भई अध्ययनशील हुनुपर्ने बताउनुभयो ।

नेकपा एमाले तानसेन नगर कमिटिका अध्यक्ष गुराँस आत्रेयले पार्टीमा लाग्नेहरु विचारमा स्पष्टता हुनुपर्ने भन्दै सबै तहका सदस्यहरुलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित गर्ने पार्टीको योजना रहेको बताउनुभयो । आत्रेयले पार्टीमा आवद्ध हुने सबै सदस्यलाई प्रशिक्षीत गर्ने योजनाअनुसार काम अघि बढाइको जानकारी दिनुभयो । प्रशिक्षण अभियान चलाउन प्रशिक्षक तयार पार्न थालिएको र वडा तहसम्म प्रशिक्षक तयार पार्ने, कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, भावी रणनीति र योजनाको बारेमा प्रशिक्षित गर्ने योजना अनुरुप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

आत्रेयले पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको भन्दै यीनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेको र अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेकोले समय सापेक्ष बन्न नसके अब जनताले विश्वास नगर्ने बताउनुभयो । फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएका नेता तथा कार्यकर्तामा एक रुपता ल्याउन समेत प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने आत्रेयले बताउनुभयो ।

तालिममा तानसेन नगपालिका भित्रका १०० बढी नेता सहभागि रहेको एमाले तानसेन नगर कमिटिले जनाएको छ । तालिममा एमाले नेताहरु ठाकुर प्रसाद गैरे, धनेन्द्रराज घिमिरे, दल बहादुर गुरुङलगाएतले प्रशिक्षण दिने एमालेले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय