
पाल्पा । रम्भा गाउँपालिकाले साढे ६ वर्षमा गाउँपालिका कार्यालय बनाउने केन्द्रको टुंगो लगाएको छ । यसभन्दा पहिले नै कार्यालय रहेको स्थान नजिक कार्यालय बन्ने गरि केन्द्रको टुंगो लागेको हो ।
पाँच वडा रहेको पालिकामा ५ स्थानमा केन्द्रका लागि निवेदन परेको थियो । पहिलो निर्वाचनपछिको साढे ६ वर्ष बित्दासमेत संघीय सरकारले तत्कालीन समयमा रम्भा–३,संघीय सरकारले तोकेको केन्द्र परिर्वतनको अवसरलाई प्रयोग गर्न गाउँपालिकाले सकेन । बहुमत सदस्यले पारित गर्न नसक्दा अन्यत्र सार्न नसकेको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो ।
गाउँपालिकाले कार्यविधि अनुसार स्थायी केन्द्रका लागि आवश्यक जग्गा प्रस्तावका लागि आहृवान गरेको थियो । सोही अनुसार ५ जना सभाका सदस्यले गाउँपालिका भित्रका विभिन्न ५ स्थानमा केन्द्र बनाउनुपर्ने माग सहितको निवेदन दर्ता गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
कतै पनि दुई तिहाई मत नपुगेपछि संघीय सरकारले तोकी आएको ठाउँको ५ सय वरपर जग्गा खोजी भवन निर्माण कार्य अघि बढाउनु भनेअनुसार नै अघि बढेको अध्यक्ष भण्डारीले बताउनुभयो । पहिलो पटक संघीय सरकारले रम्भा गाउँपालिका–३, पिपलडाँडाको खोकखोलालाई केन्द्र तोकेको हो । त्यसपछि केन्द्र परिर्वतन गर्न चाहेमा ६ महिनाभित्र बहुमतले र त्यसपछि गाउँसभाको दुई तिहाई मतबाट गर्न सक्ने छ ।
स्थायी केन्द्रको टुंगो नलाग्दा पालिकाको प्रशासनिक भवन निर्माणमा ढिलाइ भएको छ । सेवा प्रवाहमा समेत समस्या भएको छ । केन्द्रको टुंगो लागेसँगै भवन निर्माणको कामलाई तीव्रता दिइने अध्यक्ष भण्डारीले बताउनुभयो ।
खोकखोला नजिक पिपलडाँडा स्वास्थ्य चौकीको दक्षिणतर्फ ७ रोपनी १ आना जग्गा चार जना दाताले दिएका छन् । पालिकाले भवन निर्माणका लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरेको छ । अर्को वर्षका लागि संघीय सरकारसँग समपुरकमा २ करोड माग गरेको छ । यसवर्ष घडेरी सम्याउने, तारबार गर्ने, डीपीआर बनाउनेलगायतका काम अघि बढ्नेछ ।