कार्यसम्पादन मुल्यांकनमा पाल्पाका सबै पालिका फेल

पाल्पा । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा पाल्पाका सबै पालिका फेल भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार पाल्पाका सबै पालिका फेल भएका हुन् ।

फेल भएका पालिकाहरु मध्ये रिब्दीकोट गाउँपालिका उत्कृष्ट भएको छ । रिब्दीकोटले पाल्पामा सबैभन्दा बढी ३८.०९ अंक प्राप्त गरी जिल्लामा पहिलो बनेको हो । कार्यसम्पादन मुल्यांकनमा पास हुनका पालिकाले कम्तिमा ४० अंकभार ल्याउनुपर्ने हुन्छ तर पाल्पाका कुनैपनि पालिकाले ४० अंकभार ल्याउन सकेनन् ।

पाल्पाका स्थानीय तहहरुमा रामपुर नगरपालिकाले २६.६७, पुर्वखोला गाउँपालिकाले २१.१६, रम्भा गाउँपालिकाले ३२.२३, बगनासकाली गाउँपालिकाले २९.४५ अंकभार प्राप्त गरेका छन् । त्यस्तै तानसेन नगरपालिकाले ३०.१०, रैनादेवी छहरा गाउँपालिकाले ३६.३८, तिनाउ गाउँपालिकाले ३०.५८, माथागढी गाउँपालिकाले ३६.५४ र निस्दी गाउँपालिकाले ३२.४३ अंकभार प्राप्त गरेका छन् ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सबै कर्मचारी र जनप्रतिनिधिहरुको सहकार्यले यत्तिको भएको बताउनुभयो । अध्यक्ष कार्कीले आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रयास गर्ने बताउनुभयो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय