ऐतिहासिक पर्खालमा विद्युत् प्राधिकरण पाल्पाको डोजर

पाल्पा । पाल्पा दरबार परिसरको ऐतिहासिक पर्खालमा विद्युत प्राधिकरण कार्यालय पाल्पाले अन्धाधुन्ध डोजर चलाउँदा सरोकारवाला निकाय मौन देखिएको छ । प्राधिकरणले कार्यालयको निकासका लागि डोजर चलाउँदा २०० वर्ष अघिको पुराना ढुंगा र त्यहाँको पर्खाल लथालिंग बनेको हो ।

ऐतिहासिक वस्तुको मर्यादा नराखी विद्युत प्राधिकरणले बाटो खोल्ने नाममा पर्खालमा डोजर चलाएको हो । ऐतिहासिक पाल्पा दरबारलाई विश्व सम्पदा सुचिमा समावेश गर्न तानसेन नगरपालिकाले प्रक्रिया अघि बढाइरहेको बताए पनि नियमन गर्न सकेको छैन ।

कार्यालय प्रयोजनका लागि निकास खोल्न र पर्खाल भत्काउन विद्युत प्राधिकरणले नगरपालिकासँग कुनै समन्वय नगरेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले विद्युत प्राधिकरणले नगरपालिकासंग समन्वय गर्नुपर्नेमा आफुखुसी गरेको भन्दै अनुगमन गर्ने बताउनुभयो । ऐतिहासिक र पुरातात्विक महत्वको विषय भएकाले पुरातत्व विभागको स्वीकृति र तानसेन नगरपालिकासँग समन्वय गरेर मात्र पर्खाल भत्काउन सकिने उहाँले बताउनुभयो ।

ऐतिहासिक पर्खालमा अन्धाधुन्ध डोजर चलाउँदा फुटेका ढुंगा

ईतिहासविद् निर्मल श्रेष्ठले ऐतिहासिक भगवती मन्दिर परिसरको पर्खाल लथालिंग तरिकाले भत्काउँदा पुरातात्विक महत्वको ढुंगा नास भएको बताउनुभयो । श्रेष्ठले पाल्पा दरबार परिसरको पर्खाल र ढुंगा एतिहासिक भएकाले संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो । भगवती मन्दिर निर्माणकै पालामा तत्कालीन उजीरसिंह थापाकै पालामा यो पर्खाल लगाइएको उहाँले बताउनुभयो । पछि राणाहरुले विद्युत् प्राधिकरण भएको स्थानमा फुलबारी र करेसाबारीका रुपमा प्रयोग गरेको इतिहास छ ।

पछि विद्युत् प्राधिकरणले थर्मल प्लाण्ट राख्दा यही स्थान प्रयोग गरेको र नापी गर्दा जुन कार्यालय जहाँ छ, त्यही नापेकाले २०३४ साल पछि मात्र विद्युत् प्राधिकरणले लालपुर्जा पाएको क्षेत्र हो । तर यस क्षेत्रलाई पुरातत्व विभागले नै निगरानी गरेको र तानसेन नगरपालिकाले विश्व सम्पदा सूचिमा राख्न पहल गरेकाले समन्वय र सहकार्य नगरिकन पर्खाल भत्काइन नहुने उहाँले बताउनुभयो ।

बतासेडाँडा स्थित सबस्टेशनमा डम्प गरिएको ढुंगा

भत्काईएको पर्खालका ढुंगा संरक्षण गरिएको छैन । कतिपय सडकमै लथालिंग रुपमा छाडिएको छ । कतिपय ढुंगाहरु टेक्टरमा राखेर बतासेडाँडा स्थित प्राधिकरणको सवस्टेशनमा लगेर डम्प गरिएको छ । पर्खाल भत्काएको स्थानमा ढुंगाहरु फुटेर छरपस्ट अवस्थामा रहेका छन् । संरक्षण गरिनुपर्ने क्षेत्रको लथालिंग तरिकाले विनास हुनु राम्रो विषय नभएको स्थानीय शान्ति बस्यालले बताउनुभयो ।

नगरपालिकाले ऐतिहासिक दरबार परिसरको संरक्षण गर्न भनि विद्युत प्राधिकरणको कार्यालय हटाउन परिपत्र समेत गरिसकेको छ । तर प्राधिकरणले उल्टो पर्खाल भत्काएर ऐतिहासिक ढुंगाहरु लथालिंग पारेको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण पाल्पाका प्रमुख दिलीप मरासिनीले विद्युत कार्यालयको नाममा जग्गा भएका कारण कसैसंग अनुमती लिनु नपर्ने बताउनुभयो । मरासिनीले त्यहाँका ढुंगा कतैपनि नलगिएको बताएपनि बतासेडाँडा स्थित सवस्टेशनमा डम्प गरेको अवस्थामा भेटिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय