पाल्पा । माथागढी गाउँपालिकाले दलित समुदायलाई कम्प्यूटर तालिम लिने अवसर सिर्जना गरेको छ । गाउँपालिकाले मागमा आधारित दलित लक्षित कार्यक्रम अन्र्तगत कम्प्यूटर तालिम लिने अवसर सिर्जना गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार माथागढी गाउँपालिका भित्र स्थाई बसोबास भएका दलित उत्पिडित बासिन्दाहरुको लागि कम्प्यूटर तालिम दिने भएको हो । गाउँपालिकाले विभिन्न कागजातसहित आवेदन माग गरेको वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो ।
आवेदनका लागि आवेदकले निवेदन, नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित वडा कार्यालयको सिफारिस, पासपोर्ट साईजको फोटो २ प्रति, एसइई÷एसएलसी प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । प्रत्येक वडा बाट ३ जनालाई तालिममा अवसर दिईने गाउँपालिकाले जनाएको छ ।
आवेदकहरु मध्ये बाट अन्तरवार्ता लिएर तालिमका सहभागी छनौट गरिने भएको छ । वडा नं. १, २, ३ र ४ का आवेदकहरुलाई वडा नं. ३ को कार्यालयमा फागुन १२ गते दिनको ११ बजे र वडा नं. ५, ६, ७ र ८ का आवेदकहरुलाई वडा नं. ७ को कार्यालयमा फागुन १० गते दिनको ११ बजे अन्तरवार्ता लिईने गाउँपालिकाले जनाएको छ । अन्तरवार्ताको दिन नै नतिजा प्रकाशन गरिने दलित उत्थान गाउँ समन्वय समिति माथागढीले जनाएको छ ।