पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी एक्लेवरमा रहेको ज्ञानोदय आधारभुत विद्यालयको ५० औं वार्षिकउत्सव तथा स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
स्वर्ण महोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पाल्पा २ का ठाकुरप्रसाद गैरेले बन्द हुन लागेको विद्यालयको शैक्षिक र भौतिक प्रगति ल्याउनु भनेको शैक्षिक र सामाजिक परिवर्तनको अभियान भएको बताउनुभयो । गैरेले विद्यालयको समग्र विकासमा आफूले भरपूर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै विशिष्ट अतिथि पाल्पा क्षेत्र नं. १ का सांसद नारायण प्रसाद आचार्यले विद्यालयले २०८४ सालसम्म माध्यमिक तहको संचालन गर्ने गरी काम गर्न शुभकामना दिनुभयो । उहाँले बन्द हुन थालेको विद्यालय पनि इच्छा शक्ति भएमा राम्रो हुन सक्ने रहिछ भन्ने प्रमाण देशभरका विद्यालयलाई ज्ञानोदयले दिएको आचार्यले बताउनुभयो । आचार्यले भवन निर्माण, कम्पाउन्ड, पुस्तकालय, शिक्षक ब्यबस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
विद्यालयले स्वर्ण महोत्सवका अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु माघ २४ गते देखि २८ गते सम्म सन्चालन गरेको थियो ।
बन्द हुन थालेको विद्यालयलाई स्थानान्तरण गरेर नयाँ व्यवस्थापनमा संचालन भएपछि सरकारी विद्यालयमा समेत अभिभावकको आर्कषण सहित विद्यार्थी वृद्धि हुँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
पन्थीको अगुवाईमा हालको स्थानमा विद्यालय स्थानान्तरण भएपछि विद्यार्थी संख्या संंगै विद्यालयको भौतिक र शैक्षिक सुधार सफल भएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य खेम बहादुर सारु, नेपाल सरकारका सहसचिव तथा ज्ञानाेदय प्राविका पूर्व विद्यार्थी श्रीकृष्ण नेपाल, माथागढी गाउपालिकाका अध्यक्ष यम बहादुर चिदी, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, वडा नम्बर ३ का अध्यक्ष तेज घर्ती, तानपा ८ का वडा अध्यक्ष राजेश कुमार अर्याल, कार्यपालिका सदस्य तुलसा नेउपाने, सौभाग्य माविका पूर्व प्रअ होमनाथ शर्मा काफ्ले, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार अभिभावकहरुको समुपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ विजयदीप पन्थीले एक करोड उनान्सय लाख दुई हजार आठ सय बाउन्न रुपैया बराबरको आम्दानी खर्चको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।