
पाल्पा । तानसेन नगरपालिका वडा नं. ७ र १० जोड्ने बेलगैरा पुल बन्ने भएको छ । नागरिकहरुलाई आवतजावतका लागि सहज बनाउन बेलगैरामा पक्की पुल बन्ने भएको हो ।
बेल्गैरामा पुल नहुँदा स्थानीयलाई वर्षाको समयमा आवतजावत गर्न समस्या भएको वडा नं. ७ का वडाध्यक्ष प्रदिप खनालले जानकारी दिनुभयो । पक्की पुल बनेपछि तानसेन वडा नं. ७ देखि वडा नं. १० जान र आउन धेरै सजिलो हुने वडाध्यक्ष खनालले बताउनुभयो । वडाध्यक्ष खनालले बजेट व्यवस्थापन गर्ने तानसेन नगरपालिका, नगरप्रमुख तथा बाटो निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गाधनीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त क्षेत्रमा ३ मिटरको बाटो र पक्की पुल बन्ने भएको वडा नं. १० का वडाध्यक्ष हेमलाल पंगेनीले बताउनुभयो । पुल नबन्दा वर्षाको समयमा यहाँका स्थानीयलाई धेरै घुमाउरो बाटो हिँड्नुपर्ने र बाँसको पुलबाट जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष पंगेनीले बताउनुभयो । वडाध्यक्ष पंगेनीले पुल र बाटो निर्माण गर्न तानसेन नगरपालिका बाट ४ लाख ४९ हजार ३ सय ६३ रुपैंया बजेट विनियोजन गरिएको बताउनुभयो ।
यसभन्दा अघि बेल्गैरामा बाँसको कच्ची पुल रहेको थियो । कच्ची पुल हुँदा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने र यातायातको साधन गुडाउन नमिल्ने अवस्था रहेको थियो । बाटो र पुल निर्माणका लागि जग्गादाता र उपभोक्ता समितिको सक्रिय सहभागिता रहेको छ ।