पाल्पा । दक्षिण यसियाकै पहिलो गाउँले सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने भएको छ ।
२०५६ चैत्र २३ गतेदेखि प्रशारण सुरु गरेको रेडियो मदनपोखराले २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने भएको हो । तानसेनमा पत्रकार सम्मेलन गर्दै रेडियो मदनपोखराले रजत जयन्ती मनाउने जानकारी दिएको हो ।
पत्रकारिता क्षेत्रलाई राज्यले सकारात्मक नजरले नहेर्ने बेला सामुदायिक रेडियो खोल्न समुदायले गरेको अथक प्रयासको २५ औं वर्ष भएको छ । राजाको शासन, शशस्त्र यूद्ध, ०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापना पश्चातको हरेक समयमा आवाज विहिनहरुको आवाज बनेर रेडियो मदनपोखराले नागरिक अधिकारका लागि भूमिका निर्वाह गरेको रेडियो सञ्चालक समितिका सचिव तथा तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।
रेडियोले २०५५ साल पुस १८ मा इजाजतपत्र प्राप्त गरी २०५६ साल चैत्र २३ गतेदेखि नियमित प्रशारण शुरु गरेको थियो । पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीले हालदेखि २०८० चैत्र २३ गतेसम्म आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो । रेडियोले हालसम्म खेलेको भूमिका, पछिल्लो अवस्था, रेडियोको भविष्य, रेडियोकर्मीको भविष्य, आर्थिक अवस्थाको बारेमा रेडियोका उपाध्यक्ष एवं कार्यकारी निर्देशक गुणाकर अर्यालले जानकारी गराउनुभयो ।
रेडियोले पत्रकार सम्मेलनबाट आएका सुझाव, आजीवन सदस्यहरुबाट आएका सुझावका आधारमा कार्यक्रमहरु तय गर्ने जनाएको छ । रजत जयन्तीको अवसरमा लोकतान्त्रिक संस्कार निर्माणमा सञ्चारको भुमिका बहस, समाजबाट पछाडी परेका असहाय, गरिव दुःखीलाई निःशुल्क भोजनदान, नेपाली समाजको सभ्यता संस्कृतिको बारेमा बहस, लोकवाजा तथा लोकधुनको रेडियोबाट रेकडिङ्ग, जीवन्तसम्म अभिलेख राख्ने र प्रत्यक्ष प्रशारणमार्फत जनमासमा सुनाउने, पुर्नमिलन कार्यक्रम, रक्तदाताहरुको नाम लिष्ट तयार पार्ने, स्थानीय पालिकाहरुबिच बहस सञ्चालन गर्ने, रेडियोका अहिलेसम्मका फोटो तथा भिडियोहरु सार्वजनिक गर्ने, बोली पत्रिका र भित्ते पात्रो सार्वजनिक गर्ने जस्ता कार्यक्रमहरुको नमुना तयार पारिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले रेडियोले गरेका कामहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार किरण कौशल, मिलन विश्वकर्मा, यज्ञमुर्ति तिमिल्सीना, देव पचभैया, कृष्ण पोखरेल लगायतले रेडियोले गर्ने विविध कार्यक्रमहरु परिमार्जन गरी युग समय, परिस्थीती अनुसारको बनाउनुपर्ने सुझाव दिएका थिए । कार्यक्रम रेडियोकर्मी रिमा सोमैको सञ्चालनमा भएको थियो ।