माथागढीमा खुर्सानीको बीउ अनुदान तथा अभिमुखिकरण

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ४ झडेवामा खुर्सानीको बीउ अनुदान तथा अभिमुखिकरण सम्पन्न भएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन अन्तरगत खुर्सानीको बीउ अनुदान तथा अभिमुखिकरण सम्पन्न भएको हो ।

अभिमुखिकरणका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले निर्वाहमुखी परम्परागत कृषि प्रणाली छाडेर व्यवसायिक बनाउने सोंचका साथ गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाका कृषि प्राविधिकहरुलाई अधिकतम प्रयोग गरेर सेवा लिन अनुरोध गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले गाउँपालिकाले माटो परिक्षण, नर्सरी, बजारीकरण देखी सबै खाले प्राविधिक सहयोग गर्ने बताउनुभयो । वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले झडेवालाई खुर्सानी पकेट क्षेत्र घोषणा गरिएको भन्दै कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममा सहभागि हुनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले गतवर्ष ३५० रोपनी क्षेत्रफलमा खुर्सानी खेति गरि एक करोड रुपैंया बराबरको कारोबार भएको झडेवा क्षेत्रमा यसवर्ष त्यसमा वृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो । थापाले झडेवा क्षेत्रमा खुर्सानीको संभावना राम्रो रहेको भन्दै कुनैपनि प्राविधिक समस्या आएमा वडा र पालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागि कृषक देव बहादुर बरालले पालिकाले बीउ दिँदा सबै कृषकले खेति गरि उत्पादित परिमाण बिक्रि गर्न सहज हुने बताउनुभयो । बरालले विगत २० वर्षदेखि कृषि गर्दै आएको बताउँदै पालिकाले वितरण गरेको बीउ तथा अन्य अनुदानको सदुपयोग भएनभएको अनुगमन आवश्यक भएको बताउनुभयो ।

झडेवाका २४ वटा समुहका करिब ५०० कृषकहरुलाई ९०० प्याकेट नेपाहर्ट र ५० प्याकेट अकबरे खुर्सानीको बीउ वितरण गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय