पाल्पा । नेपाल नियमित रक्तदाता संघ पाल्पाको संयोजकमा सामाजिक अभियन्ता भगवान भण्डारी चयन हुनुभएको छ । तानसेनमा आयोजित सरोकारवालाहरुको भेलाले भण्डारीको संयोजकत्वमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो ।
जिल्लामा बिरामीका लागि आवश्यक रगत व्यवस्थापनमा सहजीकरण गर्न संघ क्रियाशील रहने छ । यसले छरिएर रहेका रक्तदाताहरुलाई गोलबद्ध गरेर अगाडि बढ्ने छ । जिल्लाका सामाजिक संघ संस्था र अभियन्तासंगको समन्वय र सहकार्यमा रक्तदान बारे सचेतना फैलाउने, रक्तदाताहरुको सूचि तयार गर्ने र अन्तिममा ब्लड बैक स्थापना गर्ने लक्ष्यका साथ संघले काम गर्ने संयोजक भण्डारीले बताउनुभयो ।
भेलामा संघका केन्द्रीय दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष अशेष सिलवाल, पाल्पाली संगमका पूर्व अध्यक्ष पदम न्यौपाने र पत्रकार देब पचभैयाले संघले उपचारमा रहेका बिरामीका लागि आवश्यक रगत खोज्न दुख पाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँहरुले अझै पनि रक्तदान गर्ने बारेमा सचेतनाको अभाव भएकोले यस विषयमा ध्यान दिएर गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि रगत आवश्यक परेको खण्डमा परिवार भित्रकै सदस्यले रगत दिनमिल्ने भएपनि अन्यन्त्र खोज्ने चलन भएकोले यस विषयमा सबै पक्ष गम्भीर भएर समस्या समाधानमा लाग्नुपर्ने भेलामा सहभागी सरोकारवालाहरुको भनाइ थियो ।