पाल्पा । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यू भएका ५ जनालाई चिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ । गाउँकार्यपालिकाको बैठकले मृत्यू हुने तिनाउ गाउँपालिका भित्रका ५ जनाको परिवारलाई ३५ हजार रुपैंयाको दरले राहत दिने निर्णय गरेको हो । त्यस्तै यो दुखद घडीमा तिनाउ गाउँपालिकाले पालिकाभरका सम्पुर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिने निर्णय गरेको छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले अन्य घाईतेहरुको उपचारका लागि बीमा बोर्ड, अस्पतालको सामाजिक विकास शाखालगाएत सम्बन्धित पक्ष संग समन्वय गर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले ग्रामिण क्षेत्रमा प्रहरीको अनुगमन नभएको मौका छोपी क्षमता भन्दा बढी यात्रु बोक्ने कार्यलाई रोक्न अनुरोध गर्नुभयो ।
पाल्पामा हिजो बेलुका भएको जिप दुर्घटनामा घटनास्थल र उपचारका क्रममा दुई गरी दश जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । अपराह्न डुम्रेबाट तिनाउ गाउँपालिका वडा नंं ६ को चिदीसतर्फ जाँदै गरेको लु १ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो ।
तिनाउ गाउँपालिका भित्रका ६० वर्षकी यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर पन्त, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी र २० वर्षिय गिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।