
पाल्पा — चिसो कमी हुँदै गर्दा पाल्पाली परिकार चुकाउनीको स्वाद लिने बढ्छन् । आलु, दहीलाई मेथीले झानेपछि बन्छ, चुकाउनी । यो परिकार चिसो र गर्मी दुवै मौसममा उपयुक्त हुन्छ । तर यसपटक केही दिनअघि पानी परेकाले चिसो कम भएको छैन । पाल्पाली परिकार चुकाउनी चिसो बढे पनि बनाउने र खानेमा कमी हुँदैन ।
‘चिसो मौसममा पनि चुकाउनी खानेको कमी आएन,’ तानसेन नगरपालिका–९, दमकडाकी शारदा नेपालले दमकडा सडक खाना महोत्सवमा शनिबार भनिन्, ‘चिसो होस् वा गर्मी चुकाउनीको स्वाद धेरैको आकर्षण बन्छ । बेलुकी चिसोमा पनि चुकाउनी खानेको कमी भएन ।’ स्थानीय खाना, खाजा र संस्कृतिलाई नयाँपुस्तासम्म पुर्याउन आयोजित दमकडा सडक खाना महोत्सवमा आकर्षक चुकाउनी नै थियो ।
मगरी समुदायमा प्रचलित बारा (बटुक), मेवाको अचार र चुकाउने खानेकै भिड लागेको स्थानीय गीता बस्यालले बताइन् । विभिन्न स्थानबाट दमकडा पुगेकाको पहिलो रोजाइँ चुकाउनी बनेको उनले बताइन् । सेलरोटी, पकौडा, अचार, छोयला लगायतका परिकार सडक महोत्सवको आकर्षण बनेको हो ।
मास, केराउबाट बनाइने बटुक धेरेको रोजाइ बन्यो । कुखुरा, हाँसको छोइला पनि सबैका लागि आकर्षण नै हुन्छ ।
सडक खाना महोत्सवमा विभिन्न जातजातिको परिकार लोकप्रिय बनेको तानसेन–९, का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । दोस्रो पटक दमकडामा राखिएको महोत्सव सबैका लागि मनोरञ्जन र रुचीको विषय बनेको उनले बताए । बाँसटारी–झडेवा सडकको दमकडा बजार क्षेत्रमा सडकमै राखेको खाजा खानाका परिकारमा आकर्षण बटुक, चुकाउनी, सेलरोटी र मासुका परिकार थियो । विभिन्न जातजातिका भेषभूषा र खानाका परिकारले दमकडाको सडकमा फरक माहोल सिर्जना गराएको स्थानीय तथा पूर्वसांसद सोमप्रसाद पाण्डेयले बताए ।
‘यस्ता महोत्सवले परम्परागत संस्कृति जोगाउनमा ठूलो सहयोग पुग्छ,’ उनले भने, ‘गतवर्ष सफल भएपछि यसवर्ष राखेको हो तर दर्शकको उत्साह निकै देखियो । जसले गर्दा जिल्लाको संस्कृति र खानाका परिकारलाई प्रचारप्रसारमा सहयोग पुगेको छ ।’ दमकडा क्षेत्रमा रहेका विभिन्न टोल विकास संस्था, नेपाल मगर संघका साथै वडा कार्यालय र लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्ले दमकडामा सडक खाना महोत्सव राखेका हुन् ।
महोत्सवमा मगरी, नेवारी, ब्राÞम्हण लगायत विभिन्न जातजातिका परम्परागत खाजा तथा खानाको परिकार राखिएको थियो । परम्परागत भेषभूषामा सजिएर सफा, स्वस्थकर, परम्परागत खाजा, खानाका स्टल राखिएको स्थानीय माधव बस्यालले बताए । दर्शकहरूलाई प्रवेश निःशुल्क गरिएकाले भिड लागेको हो । सडक खाना महोत्सवले हराउँदै गएको कला–संस्कृति जर्गेना गर्दै युवापिढीलाई कला संस्कृतिको बारेमा जानकारी गराएको स्थानीय तथा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले बताइन् ।
‘सोचे भन्दा धेरै उत्कृष्ट महोत्सव भएको छ,’ उनले भनिन्, ‘यसबाट सबैलाई नयाँ स्वादमा रमाउने मौका मिलेको छ । विशेषगरी नयाँ पुस्तामा यसले सिकाई भएको छ ।’ सडकमै खाने, नाच्ने, डुल्ने र प्रत्यक्ष परिकार बनाएको अवलोकन गर्ने मौका मिलेको हो । लोक गायक बद्री पंगेनीका साथै स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन दिए । पञ्चेबाजा, भजन, खेली, रोइला, झाम्रे, सोरठीको रमाइलो पनि दर्शकले मन पराए ।
साभार : ekantipur.com (Madhab Aryal)