बगनासकालीको यम्घा र चिर्तुङ्गधारामा स्वास्थ्य भवन उद्घाटन

पाल्पा । बगनासकाली गाउँपालिकाको यम्घा र चिर्तुङ्गधारामा स्वास्थ्य भवन उद्घाटन गरिएको छ । बगनासकालीको यम्घामा स्वास्थ्य ईकाइ र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो ।

गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले दुवै भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको भन्दै बगनासकालीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । अध्यक्ष चिदीले पालिकाका केहि वडाहरुमा मात्र स्वास्थ्य भवन बन्न बाँकी रहेको भन्दै अव छिटै हरेक नागरिकहरुले नजिकैको स्वास्थ्य भवन बाट स्वास्थ्य सेवा लिने गरि गाउँपालिकाले योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरी प्रसाद पाठकले स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए पनि जनशक्ति विकास तथा सेवाको पहुँचमा राम्रो सुधार हुन नसकेको भन्दै गाउँपालिकाले उक्त क्षेत्रमा काम गरिरहेको बताउनुभयो । पाठकले भौतिक रुपले सम्पन्न स्वास्थ्य संस्थाहरुमा नियमितरूपमा जनशक्ति औषधि, औजार र उपकरण आपूर्ति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन तथा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरको प्रभावकारी अनुगमन र मूल्याङ्कन गरिने बताउननुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, प्रवक्ता टिका बहादुर थापा, वडाध्यक्षहरु, समाजसेवी, जग्गादातालगाएतले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने विषयमा जोड दिएका थिए । कार्यक्रमका अवसरमा भवन निर्माणका क्रममा सहयोग गर्ने विभिन्न व्यक्ति, संस्था र जग्गादाताहरुलाई सम्मान समेत गरिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय