![होजियारीबाट स्वरोजगार बन्दै माथागढीका महिला](https://madiviewnews.com/wp-content/uploads/2024/02/WhatsApp-Image-2024-02-09-at-7.15.11-AM.jpeg)
पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ का महिलाहरु लघु उद्यमी समुह मार्फत सञ्चालन भएको होजियारी बाट स्वरोजगार बनेका छन् । मिलिजुली होजियारी लघु उद्यमी समुहमार्फत सञ्चालित होजियारी बाट एक दर्जन बढी महिलाहरु स्वरोजगार भएका हुन् ।
माथागढी गाउँपालिका वडा नं. ३ को सराईमा महिलाहरुको समुहले दिनभरी टोपी, गलबन्दी, स्विटर बुन्ने काम गर्छन् । गाउँपालिकाले दिएको तालिम पश्चात महिलाहरुले समुह मार्फत व्यवसाय नै सञ्चालन गरेका हुन् । स्थानीय स्तरमा नै निर्माण हुने भएकाले अन्यत्र भन्दा सस्तो र गुणस्तरिय सामग्री बन्ने गरेको उद्यमी महिला समुहकी अध्यक्ष माया सारुले जानकारी दिनुभयो ।
समुहले उत्पादन गरेको सानो टोपी खुद्रा १५० र होलसेल १३० रुपैंयामा बिक्रि गर्ने गरेको छ । त्यस्तै ठुलो टोपी खुद्रा १४० र होलसेल १६० रुपैंयामा बिक्रि भईरहेको छ । सानो टोपीमा आफ्नो संस्थाको लोगो राख्नुपरेमा थप ३० रुपैंया लाग्ने अध्यक्ष सारुले बताउनुभयो । त्यस्तै गलबन्दी स्मल, मिडियम र लार्जलाई क्रमश २००, २५० र ३०० रुपैंयामा बिक्रि भईरहेको छ । गलबन्दी होलसेलमा खरिद गर्दा प्रतिगोटा २० रुपैंया सस्तो पर्छ ।
समुहले उत्पादन गरेको स्वेटरको होलसेल दर विभिन्न साईज अनुसार ३१० देखी ६१० रुपैंया सम्म पर्छ । खुद्रा किन्दा प्रतिगोटा ५० रुपैंया र लोगो राख्दा ४० रुपैंया थप रकम लाग्ने समुहले जनाएको छ । विभिन्न समुह, संस्था, विद्यालय, कार्यालय, समितिलगाएतलाई उपयूक्त हुने सामग्री उत्पादन भईरहेको माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले बताउनुभयो ।
उत्पादित सामग्रीको बिक्रिका लागि गाउँपालिकाले योजना बनाईरहेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । चिदीले महिलाहरुले सञ्चालन गरेको होजीयारीमा गाउँपालिकाले विगतमा पनि विभिन्न सहयोग गरिरहेको भन्दै महिलाहरुको दिगो आम्दानी हुने हिसावले यसलाई थप प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले महिलाहरु कुनैपनि उद्यमसंग जोडिनु खुसीको कुरा भएको भन्दै गाउँपालिकाले उद्यमी प्रवद्र्धनका लागि थप योजना बनाएको बताउनुभयो । उपाध्यक्ष लुङचेले महिलाहरु आत्मनिर्भर हुन सके सिंगो समुदाय र राष्ट्रको अवस्था फेरिने बताउनुभयो ।