पाल्पामा मिडिया साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा । पारुपा र गुल्मीका पत्रकारहरु सम्मिलित मिडिया साक्षरता कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालयको सहयोगमा तानसेनमा दुइदिने मिडिया साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

मिडिया साक्षरता कार्यक्रम समापन समारोहका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले धेरेजसो मिडिया सन्देश फाइदा हुने मनसाय वा शक्तिका दृष्टिले बनाइने भन्दै मिडिया समाजको भलाइप्रति खोलिएका हुनाले सामाजिक हितको सर्वोपरि हुहुनुपर्ने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नागरिकका हक–अधिकार र कर्तव्य के–के हुन् अर्थात् समाजप्रति मिडिया उत्तरदायी र जवाफदेही रूपमा प्रस्तुत भएको छ कि छैन, त्यसको जानकारी मिडियाले दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष तथा तानसेन वडा नं. ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले पाठक, दर्शक वा स्रोतामा मिडियाका काम र यसले प्रदान गर्ने सूचना–सामग्रीलाई मापन गर्ने र मूल्यांकन गर्ने क्षमता र साहस मिडिया साक्षरताले बढाउने बताउनुभयो । अर्यालले वर्तमान मिडियाहरुले समाजको वास्तविक चित्रण बाहिर ल्याउनुपर्नेमा प्रभावकारी रुपमा त्यसो हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक–सामाजिक पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर रहने बताउनुभयो । गहिरेले मिडियाका विषयवस्तु पस्कने तरिकाले पनि यसको प्रभावस्तर मापनलाई प्रभावित तुल्याउने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुंगा साबित हुने गरी विकास भइनसकेको बताउनुभयो । रानाले मिडियाले जे÷जस्ता सामग्री वा सन्देश उत्पादन गरे पनि तिनलाई अन्धाधुन्ध पालना नगरी सोच्ने, विश्लेषण गर्ने क्रम बढेको बताउनुभयो । रानाले मिडियाको सामाजिक उत्तरदायित्व समृद्धि र विकासका लागि वस्तुगत ढंगबाट प्रस्फुटन हुन आवश्यक रहेको भन्दै डिजिटल र इन्टरनेट माध्यमको विकास र सूचना क्रान्तिले ल्याएको परिवर्तन आत्मसात् गर्न जरुरी भइसकेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय