पाल्पा । पाल्पामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । पाल्पाका १० वटै पालिकामा छनौट खेल सम्पन्न भएपश्चात जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्तले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै सभामुख घर्तीले खेल क्षेत्रलाई अघि बढाउन प्रदेश सरकारले दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताउनुभयो । सभामुख घर्तीले खेल क्षेत्रलाई स्थानीय तहहरुले पनि प्राथमिकता दिएर काम गरिरहेको भन्दै आवश्यक थप सहयोग गर्न प्रदेश सरकार संग समन्वय गर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्यहरु वीर बहादुर राना, खेम बहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई, जिल्ला फुटबल संघ पाल्पाका अध्यक्ष प्रणय वीर जंग राणा, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव प्रसाद अर्याललगाएतले आतिथ्यता ग्रहण गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले प्रतियोगिता मर्यादित,अनुशासित र नियम पुर्वक सम्पन्न हुने बताउनुभयो । अध्यक्ष घिमिरेले खेलाडीहरुको उचित व्यवस्थापन गर्न सम्बन्धित पालिकाहरुलाई अनुरोध गरेको र केहि अप्ठेरो भए जिल्ला खेलकुद विकास समितिले समन्वय गर्ने बताउनुभयो । प्रतियोगिता माघ २५ गते बिहिबार सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन १५०० मिटर दौड छात्रछात्रा, ४०० मिटर दौड छात्रछात्रा, भलिबल, कबड्डी, तेक्वान्दोलगाएतका खेलहरु सञ्चालन भएका छन् ।