पाल्पा । माथागढी र पुर्वखोला गाउँपालिकाले संयूक्त रुपमा जल्पा बहादुरपुर सडक स्तरोन्नती गर्ने भएका छन् । पुर्वखोला गाउँपालिकाको वडा नं. २ जल्पा र वडा नं. ४ देवीनगर तथा माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुर र वडा नं. ७ रहबासका नागरिक लाभान्वित हुने गरि सडक स्तरोन्नती गर्ने भएका हुन् ।
यो सडक स्तरोन्नती भएपछि सर्दी हुँदै दुम्कीबास जान निकै छोटो र सहज हुने पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । दुवै गाउँपालिकाका प्राविधिकहरुले सर्वे गरेर लागत अनुमान गर्ने काम भईरहेको अध्यक्ष थापाले बताउनुभयो । २०५५ सालबाट मानिसले खन्न सुरु गरेको यस सडक २०६६ सालमा ट्रयाक खोलेर सम्पन्न गरिएको थापाले बताउनुभयो ।
स्थानीय तहले लगानी गर्ने र प्रदेश तथा संघिय सरकार संग समेत बजेट माग गर्ने गरि योजना निर्माण भईरहेको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । अध्यक्ष चिदीले स्थानीय तहको समन्वयमा प्रदेश र संघिय सरकारले समेत लगानी गर्ने आश्वासन प्राप्त भएको बताउनुभयो । कुल १ हजार ३ सय मिटर सडक क्षेत्र अप्ठेरो रहेको र त्यलाई छिचोल्दै सडकको स्तरोन्नती गरिने चिदीले बताउनुभयो ।
प्राविधिकहरु सहितको सर्वेमा सहभागि प्रदेशसभा सदस्य खेम बहादुर सारुले स्थानीय तहले अघि सारेको योजनामा प्रदेश सरकारमा पहल गर्ने र योजना सम्पन्न गरेर नागरिकहरुको आवतजावतमा सहज बनाउने बताउनुभयो ।