पाल्पा । तानसेन नगरपालिका वडा नं. ८ को पिपलडाँडामा कार्वन उत्सर्जन न्यूनिकरणका लागि विद्युतिय चुलो प्रदर्शनी गरिएको छ । विद्युतिय चुलो प्रवद्र्धन तथा कार्वन उत्सर्जन न्यूनिकरण परिक्षण परियोजनाका लागि सहुलियतमा विद्युतिय चुलो वितरण तथा प्रदर्शनी कार्यक्रम गरिएको हो ।
क्लिन कुकिंग एलायन्स र एटेक ईन्टरनेशनलको सहयोग, तानसेन नगरपालिका र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रको समन्वय तथा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको आयोजनामा सहुलियतमा विद्युतिय चुलो वितरण तथा प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले यो कार्यक्रम केही समयको लागि परिक्षण गरिएको र प्रभावकारिताको मुल्यांकन गरि अन्य क्षेत्रमा लागु गरिने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजालीले महिलाहरुको स्वास्थ्यका हिसाबले दाउराले पकाउँदा धुँवाले असर गर्ने भएकाले विद्युतिय चुलोको अवधारणालाई नगरपालिकाले प्राथमिकता दिएर लागेको बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले खाना पकाउन दाउरा, ग्यास हुँदै विद्युतिय चुलो सम्म प्रयोगमा आईपुगेको भन्दै नागरिकका लागि विद्युतमा थप सहुलियत दिन सके यसको प्रभावकारिता हुने बताउनुभयो ।
स्थानीयबासीहरु जनक सोमै, दान बहादुर काउछामगरलगाएतले विद्युतिय चुलोले नागरिकहरुको स्वास्थ्यका साथै समय र पैसाको समेत बचत हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सोमनाथ अर्यालले खाना पकाउन विद्युतिय चुलोको प्रयोगले नागरिकहरुलाई थप सहज बनाउने भन्दै यसको लागि स्थानीय तह र सामाजिक संघसंस्थाहरुले जनचेतना फैलाउने काम गर्नुपर्ने बताउनुभयो ।
तानसेन नगरपालिका वडा नं. ९ का ३८ परिवारले सहुलियतमा विद्युतिय चुलो लिएका छन् । कार्यक्रममा कविर स्टोर्स तानसेनका सञ्चालक कमल ढकालले विद्युतिय चुलो र आवश्यक भाँडाकुँडाहरु सहुलियत दरमा उपलब्ध गराईने र माग धेरै भएमा ढुवानीको व्यवस्था समेत गरिने बताउनुभयो ।