पाल्पा । तानसेन नगर स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माध्यमिक विद्यालय जेभिटिले चुमेको छ । तानसेन टुँडिखेल मैदानमा हिँजो सम्पन्न भएको प्रतियोगितामा जेभिटिले उपाधि चुमेको हो ।
चार दिन सम्म चलेको प्रतियोगितामा तानसेन नगरपालिका भित्रका २७ वटा माध्यमिक विद्यालय सहभागि थिए । सहभागी विद्यालयहरु मध्ये ११ स्वर्ण पदक सहित जेभिटि विजेता बनेको हो । जेभिटिले ११ स्वर्ण सहित ९ रजत र ९ काश्य गरि जम्मा २९ वटा पदक जितेको छ । त्यस्तै १० स्वर्ण पदक सहित दमकडा नमुना माध्यमिक विद्यालय दोश्रो भएको छ । दमकडाले ९ रजत र ९ काश्य सहित जम्मा २८ पदक जितेको छ ।
जम्मा १९ पदक जितेको सरस्वती मावि तेश्रो भएको छ । सरस्वतीले १० स्वर्ण, ४ रजत र ५ काश्य पदक जितेका छन् । समापन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास मिति पाल्पाका अध्यक्ष दिपक घिमिरेले पाल्पा जिल्ला पछिल्लो समय खेलकुद क्षेत्रको हब बन्दै गईरहेको बताउनुभयो । घिमिरेले विद्यालयहरुले खेल क्षेत्रमा थप योजना बनाएर कार्यान्वयन गरे जिल्लाको खेल क्षेत्र उज्जवल रहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिककी कार्यबाहक मेयर प्रतिक्षा गाहा सिंजालीले प्रतियोगितामा विद्यालय र विद्यार्थीको उत्साहजनक उपस्थिति देखिएको बताउनुभयो । सिंजालीले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले तानसेन नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड बाट छनौट भएका खेलाडीहरुले जिल्ला र प्रदेशमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । न्यौपानेले खेलाडीहरुको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।