रिब्दीकोटका चन्द्रले पाए ६६ वर्षमा नागरिकता

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. ७ पालुंगमैनादीका चन्द्र बहादुर सार्कीले ६६ वर्षको उमेरमा नागरिकता पाएका छन् । विभिन्न कागजपत्र नमिलेका कारण धेरै दुख पाएर ६६ वर्षको उमेरमा बल्ल सार्कीले नागरिकता पाएका हुन् ।

दश वर्षको उमेरमा बाबु बितेको र आमाले अर्कै बिहे गरेका कारण सार्कीको नागरिकता बनाईदिने कोहि भएनन् । त्यसपछि उहाँ पेट पाल्न भारतको आन्ध्र प्रदेश जानुभयो । त्यहाँ ट्रक चालकको काम गर्नुभयो । यसभन्दा पहिले दुइ पटक सम्म नागरिकता बनाउन नेपाल आएपनि कागजपत्र पुर्याउन नसकेर उहाँको नागरिकता बन्न सकेन । वर्तमान वडाध्यक्ष दान बहादुर कुँवरले ५ दिन लगाएर विभिन्न कागजपत्र, प्रहरी रिपोर्ट र गाउँका ५ जना व्यक्ति राखेर सर्जमिन गरेर नागरिकता बनाउन सहजिकरण गरेको बताउनुभयो । वडाध्यक्ष कुँवरले अव सामाजिक सुरक्षा भत्ताको लागि प्रक्रिया अघि बढाईदिने बताउनुभयो ।

आमाबुवा कोही पनि नभएका कारण सार्कीको तिन पुस्ते नाता पर्ने स्थानीय राम बहादुर सार्कीलाई दस्तखत गराएर नागरिकता बनाईएको हो । ६७ वर्ष भन्दा माथीका ५ जनालाई साक्षी राखेर सार्कीको नागरिकता बनेको हो । स्थानीय बिमला थापा, नुर बहादुर थापा, मिथी सर्केनी, नारायण बहादुर कुँवर र कर्ण बहादुर ठडराई साक्षी बसेर सार्कीको नागरिकता बनेको वडाध्यक्ष कुँवरले बताउनुभयो ।

६६ वर्षमा नागरिकता प्राप्त गरेका सार्कीले नागरिकता पाउने आश नै नगरेको भन्दै धेरै खुसी व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय