पाल्पा । स्वास्थ्य बीमा लागु भएपछि लुम्बिनी मेडिकल कलेजमा चहलपहल बढेको छ । स्वास्थ्य बीमा बोर्डले पुनः बीमा सुचारु गरेपछि लुम्बिनी मेडिकल कलेज प्रभाषमा चहलपहल बढेको हो ।
लुम्बिनी मेडिकल कलेज प्रभाषमा केहि समय स्वास्थ्य बीमा सेवा बन्द भएको थियो । जिल्लाका जनप्रतिनिधि, राजनैतिक दल तथा सरोकारवालाहरुको पहलमा स्वास्थ्य बीमा बोर्डले पुनः सेवा सुचारु गरेको हो ।
लुम्बिनी मेडिकल कलेजका सुचना अधिकारी कृष्ण पराजुलीले अपेक्षा अनुसारको बिरामीहरुको संख्यामा वृद्धि नभएपनि बीमित बिरामीहरुको संख्या भने बढेको बताउनुभयो । पराजुलीले अस्पताल आउने बिरामीहरुमध्ये ५० प्रतिशत बीमित बिरामीहरु रहेको बताउनुभयो । केही समय अस्पतालमा स्वास्थ्य बीमा बन्द भएकाले धेरैजसोले बीमा नगरेको हुँदा बीमित बिरामीहरु आउने क्रम बढ्न थप समय लाग्ने पराजुलीले बताउनुभयो ।
लुम्बिनी मेडिकल कलेज प्रभाषमा स्वास्थ्य बीमा पुनः सुचारु भएपछि सुस्ताउँदै गएको प्रभाष क्षेत्रको व्यापार व्यवसाय पनि बढ्दै गएको छ । स्वास्थ्य बीमा बन्द भएपछि प्रभाष क्षेत्रको व्यापार नै लगभग ठप्प जस्तै भएको थियो । अहिले स्वास्थ्य बीमा पुनः सुचारु भएपछि व्यापार क्षेत्र पनि सुध्रिएको स्थानीय व्यवसायी दिपक जिसीले बताउनुभयो ।