निस्दीका वडा कार्यालय स्वास्थ्यकर्मी, पशु प्राविधिक र शिक्षकको भरमा

पाल्पा । निस्दी गाउँपालिकाका अधिकांश वडा कार्यालयहरु स्वास्थ्यकर्मीको भरमा चलेका छन् । निस्दीका दुइवटा बाहेक सबै वडा प्राविधिक क्षेत्रका कर्मचारीले चलाएका हुन् ।

निस्दीको १ नं. वडा कार्यालय र ५ नं. वडा कार्यालय बाहेक अरु सबै वडा कार्यालयमा स्वास्थ्यकर्मी, पशु प्राविधिक र शिक्षकले वडा सचिवको जिम्मेवारी निर्वाह गरेका छन् । १ नं. वडा कार्यालयमा सहायक पाँचौं तहका वडा सचिव अकलेश्वर नाथ चौधरी कार्यरत हुनुहुन्छ । उहाँ वडा कार्यालयमा आएको करिव २ महिना मात्र भएको छ । यसभन्दा अघि १ नं. वडा कार्यालयमा पाँचौं तहको स्वास्थ्यकर्मी हरीमाया रम्जालीले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको थियो ।

त्यस्तै २ नं. वडा कार्यालयमा चौंथो तहकी स्वास्थ्यकर्मी सिता दर्लामी, ३ नं. वडा कार्यालयमा पाँचौं तहका पशु प्राविधिक ओम मश्रांगी, ४ नं. वडा कार्यालयमा जनक आधारभुत विद्यालयका प्रावि स्थाई शिक्षक सहबीर खनगाहाले वडा सचिवको जिम्मेवारी निर्वाह गरेका छन् ।

५ नं. वडा कार्यालयमा चौंथो तहका एकराज अर्याल, ६ नं. वडा कार्यालयमा छैंठौ तहका स्वास्थ्यकर्मी मिन बहादुर राना र ७ नं. वडा कार्यालयमा पाँचौं तहका स्वास्थ्यकर्मी चिनिमाया दिशाले वडा सचिवको रुपमा जिम्मेवारी बहन गर्नुभएको छ ।

निस्दीका ७ वटा वडा मध्ये ३ जना स्वास्थ्यकर्मी, १ जना पशु प्राविधिक र १ जना शिक्षकले वडा सचिवको रुपमा काम गरिरहेका छन् । प्राविधिक क्षेत्रका कर्मचारीले प्रशासन क्षेत्रको काम गर्दा सही तरिकाले कार्यसम्पादन हुन नसक्ने स्थानीयको भनाइ छ ।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रदेश लोकसेवा कार्यालयमा कर्मचारी माग गरेको तर २ वर्ष देखी प्राविधिक कर्मचारीकै भरमा वडा कार्यालयहरु चलेको बताउनुभयो । दयालले स्थानीय तहले करारमा प्रशासन क्षेत्रका कर्मचारी राख्न नपाईने भएकाले प्राविधिकहरुलाई जिम्मेवारी दिईएको बताउनुभयो । दयालले वडा सचिवका रुपमा खटाएका प्राविधिक कर्मचारीहरुलाई आफ्नो क्षेत्र समेत हेर्ने गरि खटाएको भन्दै नागरिकका काम बढी प्रभावित नभएको बताउनुभयो ।

प्रदेश लोक सेवा आयोगले कर्मचारी नपठाउँदा विकट क्षेत्रका स्थानीय तहहरु समस्यामा पर्ने गरेका छन् । कर्मचारीहरु पनि भौगोलिक विकटता र ग्रामिण क्षेत्र भएकाले आउन नचाहने गरेका हुन् । प्रदेश सरकारले ग्रामिण र विकट क्षेत्रमा कर्मचारी परिचालनको उचित व्यवस्थापन नगर्दा स्थानीय तहहरु मर्कामा परेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय