पाल्पाका ८८ प्रतिशतले गरेनन् स्वास्थ्य बीमा नविकरण

पाल्पा । पाल्पामा अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य बीमा गर्नेहरुमध्ये ८८ प्रतिशत बढी परिवारले यस वर्ष स्वास्थ्य बीमा गरेका छैनन् ।

पाल्पाका दुइ अस्पतालहरु यूनाईटेड मिसन हस्पिटल र लुम्बिनी मेडिकल कलेजमा बीमा वापतको सुविधा नपाएपछी स्वास्थ्य बीमा नविकरण गर्नेहरु घटेका हुन् । यसभन्दा अघि यि दुइ अस्पतालमा बीमा वापतको उपचार सेवा थियो । बीमा बोर्डले यि दुइ अस्पतालमा बीमा सुविधा खारेज गरेपछि बीमा नविकरण गर्ने बीमीतहरुको संख्या पनि घटेको हो ।

यसवर्ष बीमा नविकरण गर्ने परिवार संख्या ४ हजार ३ सय ९५ परिवार मात्र रहेको छ । यसभन्दा अघि आर्थिक वर्ष ०७९/८० मा ३७ हजार ५ सय ४३ परिवारले बीमा नविकरण गरेका थिए । त्यसभँदा अघि आर्थिक वर्ष ०७८/०७९ मा पाल्पाका ४२ हजार ६ सय ४५ परिवारले स्वास्थ्य बीमा गरेका थिए ।

पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा पाल्पामा स्वास्थ्य बीमा नविकरण गर्नेको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्षको अन्य हुँदा सम्म अझै केही बीमितले स्वास्थ्य बीमा नविकरण गर्ने अपेक्षा रहेको बीमा बोर्ड पाल्पाले जनाएको छ । अहिले स्वास्थ्य बीमा नविकरण गर्नेहरु धेरैजसो जेष्ठ नागरिक, दिर्घरोगी र सामान्य नागरिक रहेको बीमा बोर्ड पाल्पाले जनाएको छ । बोर्डका दर्ता अधिकारी कल्पना बस्यालका अनुसार पछिल्लो वर्ष बिमा गर्ने बिमितको संख्या घट्दै गएका छन् ।

साउन ३२ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले पाल्पाको लुम्बिनी मेडिकल कलेज र यूनाईटेड मिसन अस्पताललाई बीमा सूचि बाट हटाएको थियो । स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पतालसहित देशभरका २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको थियो । यसैको प्रभावका रुपमा बीमीतहरुले स्वास्थ्य बीमा नविकरण नगरेको हुनसक्ने सरोकारवालाहरुको भनाई छ ।

स्वास्थ्य बीमा बोर्ड संग विभिन्न विभिन्न मितिमा सम्झौता गरेका अस्पतालहरुले सम्झौता मिति अगावै सेवा स्थगन गरेको सुचना टाँस गरेको र सम्झौता मिति समाप्त भएका तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई बीमा सूचि बाट हटाएको बोर्डले जनाएको थियो ।

पाल्पा अस्पतालका निवर्तमान अध्यक्ष गुरास आत्रेयले सरकारको स्वास्थ्य बीमा प्रतिको धारणा नै नकारात्मक भएकाले नागरिकहरुले विश्वास गर्न नसकेको बताउनुभयो । आत्रेयले बीमीतहरुले स्वास्थ्य बीमा नविकरण नगर्नुको कारण जिल्लामा स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट पनि कार्यक्रम हटाउनु र पाल्पा अस्पतालमा पनि व्यवस्थित तरिकाले बीमा वापतको सेवा सञ्चालन गर्न नसक्नु भएको बताउनुभयो ।

जिल्लाका प्राईभेट अस्पतालहरुमा स्वास्थ्य बीमा लागु नहुँदा र जिल्ला अस्पतालमा व्यवस्थित नहुँदा बीरामीहरु मर्कामा परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय