पाल्पा । तिनाउ गाउँपालिकाका ९९ जनाको निशुल्क आँखाको अप्रेसन भएको छ । गाउँपालिकाले आयोजना गरेको शिविरमा ९९ जनाको निशुल्क मोतियाविन्दुको अप्रेसन भएको हो ।
तिनाउको दोभान स्वास्थ्य चौकीमा दुइ दिनसम्म चलेको शिविरमा पहिलो दिन ४२ जना र दोश्रो दिन ५७ जनाले निशुल्क आँखाको मोतियाविन्दुको अप्रेसन गरेका हुन् । पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा यही पौष २१ र २२ गते शिविर सञ्चालन भएको थियो । शविरमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालका ९ जनाले अप्रेसन थियटर निर्माणलगाएत अन्य प्राविधिक सहयोग गरेका हुन् ।
अप्रेसन गर्न आएका ५ जनालाई सुगरको मात्रा बढी भएको र उच्च रक्तचाप भएका कारणले अप्रेसन गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । प्रमुख कार्कीले २१ गते अप्रेसन गरेका व्यक्तिलाई २२ गते दृष्टि परिक्षण गरेर घर पठाईएको र २२ गते अप्रेसन गरेका व्यक्तिको २३ गते दृष्टि परिक्षण गरेर घर पठाईएको बताउनुभयो ।
शिविरमा रण अम्बिका आँखा अस्पताल भैरहवाकी एसोसियट प्रोफेसर डाक्टर शुशिला पटेलले आँखाको मोतियाविन्दुको अप्रेसन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले टाढाबाट आउने आँखाका विरामीहरुलाई सामान्य बासको व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले तानसेन र भैरहवा जानुपर्ने आँखाका बिरामीहरुलाई आर्थिक भार नपरोस् र सहज होस् भनेर गाउँपालिकाले नै शिविरको आयोजना गरेको बताउनुभयो ।
निशुल्क आँखाको मोतियाविन्दुको अप्रेसनका लागि सबै वडाबाट बिरामीहरु उपस्थित भएका थिए । गाउँपालिकाले विभिन्न १३ स्थानमा आयोजना गरेको एकिकृत घुम्ती शिविर र एक वटा छुट्टै कार्यक्रम मार्फत बिरामीहरुको पहिचान गरेको थियो । बिरामीहरुले टाढा टाढा गएर आँखाको अप्रेसन गर्नुपर्दा समय र पैसाको समस्या हुने भन्दै गाउँपालिकाले शिविर आयोजना गर्दा आफुहरुलाई फाईदा भएको बताएका छन् ।