पाल्पा । माथागढी गाउँपालिका स्तरिय पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
माथागढी गाउँपालिकाको वडा नं. ३ स्थित सराई खेलमैदानमा यही माघ ४ गते देखि ६ गते सम्म पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुने भएको हो । गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ को कार्यक्रम अनुसार कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षभन्दा कम उमेरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागि हुन सुचित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले प्रतियोगितामा विद्यार्थीलाई सहभागि गराउन सम्पुर्ण विद्यालयहरुलाई सुचित गरेको घिमिरेले बताउनुभयो ।
गाउँपालिकाले खेल विधा तर्फ छात्र छात्रा दुवैको भलिबल तथा कपर्दी, मार्सल आर्ट तर्फ छात्र छात्रा दुवैको विभिन्न तौल समुहमा कराँते, छात्र छात्रा दुवैको विभिन्न तौल समुहमा तेक्वान्दो, एथलेटिक्स ट्रयाक तर्फ छात्र छात्रा दुवैको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १ हजार ५ सय मिटर, ३ हजार मिटर दौड रहेको जनाएको छ । त्यस्तै रिले दौड छात्र छात्रा दुवैको ४*१०० मिटर र ४*४०० मिटर रहेको छ । एथ्लेटिक्स तर्फकै उफ्रने र फ्याँक्ने फिल्डतर्फ छात्रछात्रा दुवैको हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट विधा रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम बहादुर बाह्रघरेले जानकारी दिनुभयो ।
गाउँपालिका शिक्षा शाखाले सहभागि खेलाडीहरु अनिवार्य रुपमा जर्सीमा उपस्थित हुनुपर्ने, भलिबल खेलमा ८ जना विद्यार्थी खेलाडी र १ जना अफिसियल टिम कोच सहित सहभागि हुनुपर्ने, कपर्दीमा ९ जना खेलाडी र १ जना अफिसियल टिम कोच हुनुपर्ने, खेलाडीहरुको नामावली जन्मदर्ता प्रमाणपत्र सहित २०८० माघ ३ गते भि शिक्षा शाखामा पठाउनुपर्ने, खेलाडी विद्यार्थीहरुले एक फिल्ड दुइ ट्रयाक वा दुइ फिल्ड एक ट्रयाक इभेण्टमा भाग लिन पाउने, प्रत्येक इभेण्टमा एक/एक टिम वा एक/एक खेलाडी हुन पाउने जनाएको छ ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले खेल क्षेत्रको विकासका लागि विद्यार्थीलाई सानै उमेर देखि प्रोत्साहन गर्ने उद्देश्यले व्यवस्थित तरिकाले गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । अध्यक्ष चिदीले अघिल्लो वर्ष जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता नै माथागढी गाउँपालिका वडा नं. ३ सराई खेलमैदानमा आयोजना गरेको भन्दै यसवर्ष थप व्यवस्थापनका साथ गाउँपालिका स्तरिय प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।