पाल्पा प्रहरीको भवन उद्घाटन

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको हाता भित्र कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, भान्सा घर, हिरासत कक्ष, व्यारेक र शौचालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षक वसन्त बहादुर कुँवरले भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै कुँवरले नेपाल प्रहरीलाई आवश्यक विभिन्न भौतिक पुर्वाधारलाई नेपाल सरकारले महत्व दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कुँवरले चौबीसै घण्टा ड्यूटीमा खटिने नेपाल प्रहरीको दिगो विकास र सुदृढिकरणका लागि आवश्यक पुर्वाधार निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । नेपाल प्रहरीले साधन र श्रोतको वास्ता नगरि निरन्तर जिम्मेवारी बहनमा लागेको कुँवरको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले आयोजना गरेको उद्घाटन कार्यक्रममा राजनैतिक दल र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले जिल्लाको शान्ति, सुरक्षा र अवस्थाको बारेमा जानकारी गराउनुभयो ।

निर्माण सम्पन्न भवनहरू २०७६/१२/०६ गते सुरु भई दुई चरणमा ठेक्का आव्हान गरी २०८०/०२/३० गते कुल लागत खर्च ६ करोड ९५ लाख ५५ हजार ४ सय ३९ रूपैया ३१ पैसामा निर्माण सम्पन्न भएको हो । निर्माणको पहिलो चरण अन्तरर्गत कार्यालय प्रमुख निवास, ब्यारेक भवन, भान्सा घर र शौचालय सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा ब्यवस्था भए बमोजिमका प्रक्रियाहरु अपनाई निर्माण कम्पनी प्राकृतिक निर्माण सेवा प्रा. लि. रुपन्देही, भैरहवा मार्फत भएको हो । पहिलो चरणको सम्पुर्ण निर्माण कार्यहरु ४ करोड ३० लाख ९ हजार ७० रूपैया ५६ पैसामा निर्माण सम्पन्न भएको हो ।

कार्यालय प्रमुख निवास भवनको भुई र पहिलो तल्लामा ५ वटा कोठाहरु र यसको क्षेत्रफल १५८. ० बर्ग मिटर, ३ तल्ले ब्यारेक भवनको १२ वटा कोठाहरु र यसको क्षेत्रफल ६१९.७० वर्गमिटर, भान्सा घरमा ७ वटा कोठाहरु र यसको क्षेत्रफल २७६.० वर्गमिटर र शौचालय भवनको १० वटा कोठाहरु र यसको क्षेत्रफल २५.४ वर्गमिटर रहेको छ ।

यसै गरी दोस्रो चरण अन्तरर्गत सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष निर्माण र कार्यालय भवनको मर्मत संम्भार सम्बन्धि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा ब्यवस्था भए बमोजिमका प्रक्रियाहरु अपनाई निर्माण कम्पनी शुभ कन्स्ट्रक्सन प्रा लि. नयाँ बजार – १७ काठमाडौ, मार्फत निर्माण भएको छ । दोश्रो चरणको निर्माण कार्यहरु मिति २०७७/१०/०६ गते निर्माण सम्झौता भई २ करोड ६५ लाख ४६ हजार ३ सय ६८ रूपैया ७५ पैसामा निर्माण सम्पन्न भएको हो ।

त्यस्तै सिनियर प्रहरी अधिकृत निवास भवनमा जम्मा १० वटा कोठाहरु र यसको क्षेत्रफल ३७९.१५ व.मि. रहेको छ । यसै गरी महिला र पुरुषको लागी छुट्टाछुट्टै हिरासत कक्ष ८ वटा कोठाहरु र यसको क्षेत्रफल २६६.९६ व.मि. रहेको छ । मर्मत संभार गरीएको कार्यालय भवनको १४ वटा कोठाहरु रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय