
पाल्पा । माथागढी गाउँपालिकाले व्यवसायिक कृषि गर्ने किसानका लागि कृषि सामग्री अनुदानमा दिने भएको छ ।
गाउँपालिकाले लहरे तरकारी ्को बिउ तथा प्लास्टिक टनेल तथा मल्चिङ अनुदानमा दिने भएको हो । गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार लहरे तरकारी बिउबिजन अनुदान कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा लहरे तरकारीका बिउबिजन दिने भएको हो । गाउँपालिकाले काँक्रा, करेला, भिंडी, सिमी, बोडी, तर्बुजालगाएतका बिउबिजन अनुदानका लागि निवेदन माग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाले ७० प्रतिशत अनुदानमा प्लास्टिक टनेल तथा मल्चिङ दिने भएको छ । गाउँपालिकाले आवश्यक पर्ने कृषक, समुह, कृषि फार्म तथा सहकारीहरुलाई सुचना प्रकाशन गरेको १० दिनभित्र आवश्यक कागजात सहित निवेदन माग गरेको छ । गाउँपालिकाले यही पौष २० गते पहिलो पटक सुचना प्रकाशन गरेको छ ।
आवश्यक पर्ने व्यक्ति तथा समुह, सहकारीले निवेदन, व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, कृषि फार्म, समुह तथा सहकारीको हकमा दर्ता तथा नविकरणसहितको प्रमाणपत्रको प्रतिलिपी र समुह सहकारीको हकमा हिउँदे तरकारीको बिउ माग गर्ने सम्बन्धिको निर्णयको प्रतिलिपी आवश्यक पर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले किसानहरुलाई बर्षामा मात्र नभई हिउँदमा पनि कृषि कर्ममा जोड्ने गरि गाउँपालिकाले बिउबिजन वितरणको कार्यक्रम ल्याएको बताउनुभयो । अध्यक्ष चिदीले बेमौसमी तरकारी उत्पादन गरेर कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्यलाई क्रमश अघि बढाउँदै जाने र किसानलाई व्यवसायिक बनाउने योजना तथा कार्यक्रम अघि सार्ने बताउनुभयो ।