पाल्पा । निस्दी गाउँपालिकाले २० करोड रुपैंया एउटै सडकमा लगानी गरेको छ । गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानी भित्रको २० करोड रुपैंया बजेट एउटै सडकमा लगानी गरेको हो ।
गाउँपालिकाले आफ्ना ६ वटा वडा समेट्ने गरि निर्माण भएको केम खाम्चा मार्गको स्तरोन्नती गर्न २० करोड रुपैंया लगानी गरेको हो । गाउँपालिकाले प्रदेश सरकारले काम गर्ने खण्ड बाहेक होङ्सी चोक, मित्याल, खादर, भाङबारी, बाकामलाङ र खुट्टे क्षेत्रमा काम हुने गरि महेश इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लि. बर्दघाट ४ नवलपरासी संग ठेक्का सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो ।
दयालले १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ रुपैंया ८९ पैसा भ्याट र पिएस सहित २०८० साउन १३ गते ठेकेदार कम्पनी संग ठेक्का सम्झौता गरेको बताउनुभयो । सम्झौता अनुसार ठेकेदार कम्पनीले २०८२ कार्तिक १२ गते अर्थात सम्झौता भएको २६ महिना भित्र काम सक्नुपर्ने हुन्छ ।
गाउँपालिकाका प्रविधिक इन्जिनियर सञ्जय खनालका अनुसार २७,४३२.५० घनमिटर अर्थात लगभग ३५ देखि ४० किलोमिटर माटो खन्ने कार्य, ९,२९१ घनमिटर अर्थात लगभग १२ देखि १४ किलोमिटर ग्रावेल गर्ने कार्य, १,५८८ घनमिटर मेसीनरी वाल उठाउने कार्य, १,५८१ घनमिटर ग्याविन भर्ने कार्य हुने छ । त्यस्तै ५,०४७.९३ घनमिटर प्लम वालको कार्य, १५० मिट ह्यूम पाईप, ३४९ घन मिटर एम १५, टिएमटी रड १०.४७ टन र सोलिङ गर्ने कार्य ४१३ घनमिटर हुने सम्झौतामा उल्लेख गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दी पहाडै पहाडको गाउँपालिका भएको र एउटा वडा बाट अर्को वडामा जान निकै कष्ठकर भएकाले पहिलो प्राथमिकतामा सडकलाई राखेर काम गरेको बताउनुभयो । अध्यक्ष सारुले गाउँपालिकाका धेरैजसो वडाहरु समेट्ने गरि निर्माण भएको केम खाम्चा मार्ग स्तरोन्नती भएपछी यहाँका कृषि उपज तथा अन्य कच्चा पदार्थ र उत्पादित सामग्री विक्रि वितरणका लागि निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
निस्दी गाउँपालिकाका धेरैजसो स्थानमा बर्षाको समयमा ३ देखि ४ महिना सडक अवरुद्ध हुँदा आवतजावतमा निकै समस्या हुने गरेको छ । बर्षाको समयमा एम्बुलेन्स समेत आवतजावत गर्न नमिल्ने गरि सडक बिग्रने गरेको विगत सम्झँदै गाउँपालिका अध्यक्ष सारुले अव त्यसको समाधान गर्ने योजनाले सडकमा आन्तरिक आम्दानीको २० करोड रुपैंया लगानी गरेको बताउनुभयो ।
गाउँपालिकाले सडकलाई प्राथमिकता दिएर काम गर्दा स्थानीय नागरिक समेत हर्षित बनेका छन् ।