
पाल्पा । जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड रिब्दीकोट ७ पालुङमैनादीको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सहकारीले सफ्टवेयर मार्फत आर्थिक कारोबार गर्ने, सेयर सदस्यको संख्या वृद्धि गर्ने, सेयर पुँजी वृद्धि गर्ने, आवश्यक थप उपसमिति गठन गर्ने, विविध वचत खाताहरु सञ्चालनमा ल्याउने, सरकारी तथा गैरसरकारी संस्थासंग सहकार्य गर्नेलगाएतका योजना अघि सारेको संस्थाका सचिव कृष्ण कुँवरले जानकारी दिनुभयो ।
सहकारीले आगामी दिनमा सदस्यहरुका लागि कृषि तथा साना व्यवसायी प्रोत्साहन कार्यक्रम ल्याउने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता प्रक्रिया अघि बढाउने, जैविक मल उत्पादन उद्योग स्थापना तथा सञ्चालनको तयारी गर्ने, जिल्ला सहकारी संघमा आवद्ध हुने, सेयरको प्रमाणपत्र वितरण गर्नेलगाएतका योजना बनाएको सहकारीका अध्यक्ष नारायण लाम्टांगेले जानकारी दिनुभयो ।
साधारणसभाका प्रमुख अतिथि तथा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सरकारले नै सहकारी मार्फत किसानहरुको समृद्धि महसुस गरि विविध कार्यक्रम लागु गरेको भन्दै सहकारीलाई स्थानीय तहमार्फत थप शशक्त बनाउने अभियानमा लागेको बताउनुभयो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष दान बहादुर कँुवर, कार्यपालिका सदस्य गोमा पचभैया, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक यादवसिंह कुँवर, आत्मनिर्भर कृषि सहकारीका अध्यक्ष दोलख कार्की, सल्लाहकार सदस्य विष्णु थापा, सेयर सदस्य अञ्जु ठडराई, संस्थापक सचिव शान्ति कार्की, दिव्यज्योती सहकारीकी कमला थापालगाएतले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका अवसरमा संस्था दर्ता, कार्यालय व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न सहयोग गर्ने संस्थापक अध्यक्ष सुनिल बस्याल, तालिम र शिक्षा शिर्षक वाट मनोज विक, असल व्यवसायीक ऋणी विष्णु नेपाली ठडराईलाई सम्मान समेत गरिएको छ ।