
पाल्पा । निस्दी गाउँपालिकाले सुशासनको नयाँ असल अभ्यास सुरु गरेको छ । गाउँपालिकाले कर्मचारीको दैनिक कार्यसम्पादन डायरी भर्ने र प्रमाणित गर्ने असल अभ्यास सुरु गरेको हो ।
डायरीमा कर्मचारीले दैनिक रुपमा सम्पादन गरेको प्रमुख कार्य एवं उपलब्धीहरु, बाहिर गएको निकाय/स्थान र कामको विवरण, गएको समय, आएको समयलगाएतका भर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । प्रमुख दयालले दैनिक कार्यसम्पादन डायरी भर्दा कर्मचारीहरुको मुल्यांकन गर्न सहज हुने र जवाफदेहिता समेत बढ्ने बताउनुभयो ।
“हामीले प्रत्येक वर्ष कर्मचारीको कार्यसम्पादन मुल्यांकन फाराम भरेर माथिल्लो निकायमा पठाउनुपर्ने हुन्छ, कर्मचारीले वर्षभरीमा के के काम कसरी कसरी गर्यो भनेर एकै पटक सम्झन पनि गाह्रो हुन्छ ।” प्रमुख प्रशासकीय अधिकृत दयालले भन्नुभयो, “त्यसैले हामीले कर्मचारीको दैनिक कार्यसम्पादन मुल्यांकन फाराम भर्ने नीति ल्याएका हौं । यसले कर्मचारीहरुको कार्यक्षमताको सहि पहिचान हुनुका साथै मुल्यांकनमा न्याय समेत हुन्छ ।”
गाउँपालिकाका सुचना अधिकारी अर्जुन खनालले प्रमुख प्रशासकीय अधिकृतको दैनिक कार्यसम्पादन डायरी गाउँपालिका अध्यक्षले, विषयगत शाखा प्रमुख कर्मचारीहरुको प्रमुख प्रशासकीय अधिकृतले, गाउँपालिकाका अन्य शाखाका कर्मचारीहरुको विषयगत शाखाका प्रमुखहरुले, वडा सचिवहरुको सम्बन्धित वडाध्यक्षहरुले र वडाका अन्य कर्मचारीहरुको वडा सचिवले सुपरिवेक्षण गरि प्रमाणित गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बर्षमा एक पटक गर्नुपर्ने कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन दैनिक रुपमा डायरीमा भरेर त्यसको सुपरिवेक्षेण गर्दा सबै कर्मचारीहरुको कार्यक्षमता र जिम्मेवारीपन मुल्यांकन गर्न सहज हुने बताउनुभयो । अध्यक्ष सारुले यसले गर्दा कर्मचारीहरुलाई पनि काम गर्न उत्साह थपिने भन्दै सबैले गरेको कामको उचित मुल्यांकन हुने बताउनुभयो ।
निस्दीको यो असल अभ्यासको नागरिकहरुले पनि प्रशंसा गर्ने गरेका छन् । कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन फाराम पर्ने परिपाटीले नागरिकको काम पनि छिटो र सहज तरिकाले हुने गरेको स्थानीयको भनाइ छ ।