पाल्पा । तिनाउ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्रयाक्टर वितरण गर्ने भएको छ ।
गाउँपालिकाले व्यवसायिक रुपमा कृषि गरिहेका व्यक्ति तथा कृषक समुह/सहकारीलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने भएको हो । किसान, समुह तथा सहकारीको मागको आधारमा हाते ट्रयाक्टर वितरण गरिने भएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले ७ एचपीको हाते ट्रयाक्टर मागका लागि १५ दिने सुचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतद्धारा हस्ताक्षरीत सुचनामा माघ ४ गते सम्म आवश्यक कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।
हाते ट्रयाक्टर माग गर्न ईच्छुक व्यक्तिले नागरिकता, जग्गाको लालपुर्जाको प्रतिलिपी र तिरो तिरेको रसिद पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै समुह तथा सहकारीले निर्णय, नविकरण भएको दर्ता प्रमाण पत्र र कर चुक्ताको प्रमाणपत्र प्रतिलिपी पेश गर्नुपर्ने छ भने ऐलानी जग्गामा खेति गरेको हकमा नागरिकताको प्रतिलिपी र खेति गरेको क्षेत्रफल खुल्ने वडाको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार सञ्चालन हुने हाते ट्रयाक्टर माग गर्ने सबैका लागि वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।