
पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका गोरु पाल्ने र किन्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ ।
रिब्दीकोट गाँउपालिका वडा नं १ ख्याहाले गोरु पालन गर्ने र नयाँ हलगोरु किन्ने कृषकलाई प्रोत्साहन रकम दिने निर्णय गरेको थियो । वडा कार्यालयले नियमित रुपमा गोरु पालेका २९ जना कृषक र नया हलगोरु किनेका दुइ जना कृषकलाई प्रोत्साहन रकम वितरण गरेको वडा नं. १ का वडाध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिनुभयो । वडाध्यक्ष पोखरेलले रिब्दीकोट गाउँपालिका कृषि क्षेत्रमा आधारित भएकाले कृषकहरुलाई प्रोत्साहन गर्नु पालिकाको नीति नै रहेको बताउनुभयो ।
वडा कार्यालयले गोरु पालिरहेका २९ जना कृषकहरुलाई २,५०० र नयाँ हलगोरु किन्ने दुई जना कृषकहरुलाई ५,००० रुपैंयाका दरले वितरण गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वितरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कृषकलाई प्रोत्साहन गर्ने वडाको काम प्रशंसनीय भएको बताउनुभयो । अध्यक्ष कार्कीले नयाँ प्रविधिले विस्थापित गरिरहेको परम्परागत कृषि प्रविधिलाई वडा कार्यालयले प्रोत्साहन गर्दा गाउँमा रहेका जनशक्तिको समेत प्रयोग हुने बताउनुभयो ।