तानसेनको कमाइखाने भाँडो रानीमहलको कन्तविजोग

पाल्पा । तानसेन नगरपालिकाले ऐतिहासिक रानीमहललाई कमाइखाने भाँडो बनाएको छ तर स्याहार गर्न सकेको छैन ।

तानसेन नगरपालिकाले रानीमहल बाट विगत १८ महिनामा लगभग ५७ लाख रुपैंया टिकट विक्रिबाट आम्दानी गरेको छ तर स्याहार भने गर्न सकेको छैन । गतबर्ष नै पेण्टिङ गरेको रानीमहल यस बर्ष आईपुग्दा जस्ताको तस्तै भएको छ । भित्ताभरी लेउ लागेको छ, पेण्ट उप्किएर रातो भित्तो देखिएको छ । त्यसप्रति नगरपालिकाको कुनै चासो छैन, चासो छ त केवल रानीमहल भित्र कति जना छिर्छन्, तिनको टिकट मुल्य कती हुन्छ ।

नगरपालिकाले रानीमहलको टिकट काट्ने र मालीको रुपमा काम गर्ने भन्दै २ जना कर्मचारी राखेको छ तर ऐतिहासिक रानीमहलमा लागेको लेउ कोतर्ने र सरसफाइ गर्ने कर्मचारी राख्न सकेको छैन । तानसेन नगरपालिकाका प्रवक्ता तथा वडा नं. ११ का वडाध्यक्ष यादवसिंह कार्कीले थप एक जना कर्मचारी राख्ने तयारी भईरहेको बताउनुभयो । प्रवक्ता कार्कीले पानिको कारणले पेण्टमा लेउ लाग्ने गरेको बताउनुभयो ।

अन्य व्यक्तिगत घरहरुमा लगाएको पेण्ट बर्षौ टिक्ने गर्छ तर रानीमहलमा बर्षेनी पेण्ट गर्नुपर्ने हुँदा स्थानीयले पेण्टकै गुणस्तरमा प्रश्न गर्ने गरेका छन् । तर प्रवक्ता कार्कीको भने गुणस्तरमा कुनै समस्या नरहेको दावी छ । कार्कीले यो बर्ष पनि १० लाख रुपैंया बजेट पेण्टिङका लागि विनियोजन गरेको बताउनुभयो ।

रानीमहल जाने बाटोको अवस्था पनि उस्तै विजोग छ । धेरैजसो स्थानमा खाल्डाखुल्डी छन्, ती खाल्डाखुल्डीमा जमेको पानीले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती व्यहोर्नु परेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु जुन चर्चा सुनेर रानीमहल आउँछन् र विजोग अवस्था देख्दा निसाश भएर फर्कनुपर्ने बाध्यता छ । ऐतिहासिक रानीमहललाई नगरपालिकाले कमाइखाने भाँडो बनाएर स्याहार नगरेको देख्दा पर्यटन व्यवसायीहरु समेत चिन्तित बनेका छन् ।

सबै तस्विर : पत्रकार बिष्णु घिमिरे

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय